भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न चाइना साउदर्न एयरलाइन्स इच्छुक देखिएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँगको छलफलमा चाइना साउदर्नका प्रतिनिधिले भैरहवा र पोखरामा हवाई उडान गर्न इच्छुक रहेको बताएका हुन् ।
चाइना साउदर्नका महाप्रबन्धक याङ वेन्फुले मन्त्री पाण्डेसँग भैरहवा र पोखरामा आफ्नो सेवा विस्तार गर्न आफूहरू उत्साहित रहेको बताए । भेटवार्तामा एयरलाइन्सका फाइनान्सियल म्यानेजर झोउ झोङ्यु, इन्जिनियर याङ झिकुन र अप्रेसन म्यानेजर जियाङ सियनपे सहभागी थिए । चाइना साउदर्नले चीनको ग्वोन्झाउबाट हाल काठमाडौंमा नियमित उडान गर्दै आएको छ । उनीहरूले भैरहवा र पोखरा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गरेको सुधारको प्रशंसा गरेका थिए । ‘हामी पोखरा र भैरहवा उडान गर्न इच्छुक छौँ, यसका लागि एयरलाइन्सको हेडक्वार्टरसँग समन्वय भइरहेको छ,’ महाप्रबन्धक वेन्फुले भने, ‘सरकारले भैरहवा र पोखरा उडान गर्ने वायुसेवालाई छुटैछुट दिएको थाहा पाउँदा उत्साहित भएका छौँ । र, त्यहाँ जान प्रेरणा पनि मिलेको छ ।’ प्रतिनिधिमण्डलले मन्त्री पाण्डेसँग भन्यो, ‘पोखरा उडानका लागि केही प्राविधिक कठिनाइ रहेको बुझिएको छ, हामीलाई उडान गर्न ३२ हजारदेखि ३५ हजार फिटको आकाश चाहिन्छ, त्यहाँ त्यो पर्याप्त नभएको भन्ने बुझेका छौँ, चीनबाटै हाम्रा इन्जिन ल्याएर यसबारे अध्ययन गर्नुहुनेछ ।’ यदि प्राविधिक पक्षले साथ दिएमा लोडमा देखिने च्यालेन्ज स्वीकार गरेर पोखरा उडान गर्न तयार रहेको एयरलाइन्सका प्रतिनिधिले विश्वास दिलाएका थिए ।
‘तपाईंहरू पर्यटकीय राजधानी पोखरा र गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहन्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ,’ मन्त्री पाण्डेले भने, ‘तपाईंहरूको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्नेछ ।’ उनले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सोबारे आफूलाई जानकारी गराउन अनुरोध गरेका थिए । यस्तै, द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि उनले बताए ।