नेपाली समाजमा तिज पर्वको के महत्व छ ?
हाम्रो समाजमा तिज पर्वको विशेष धार्मिक र सांस्कृतिक महत्व छ । अहिलेको बजार अर्थतन्त्रमा यस पर्वको व्यापारिक महत्व पनि बढ्दै गएको देखिन्छ । पतिपत्नीबिचको सुसम्बन्धमा यसको विशेष महत्व छ । साथै, अविवाहित युवतीहरूका लागि पनि सुयोग्य वर प्राप्तिका लागि व्रत बस्ने परम्पराले यसको अलग महत्व दर्साउँछ । तिज पर्वको अवसरमा माइत जाने, मिठा–मिठा र स्वस्थकर परिकार खाने, दिदीबहिनी, साथीसँगीसित भेटघाट गरी नाचगान गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत यस पर्वको अलग महत्व छ । साथै, महिलाले मात्र होइन, विवाहित पुरुषले पनि आफ्नी पत्नीको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायुको कामना तथा अविवाहित पुरुषले असल पत्नी प्राप्तिको कामनाका लागि तिजको व्रत बस्नुपर्ने कुरा पुराणमा उल्लेख गरिएको छ ।
बदलिँदो परिवेश र तिजको मर्मबिच कति तादात्म्य देख्नुहुन्छ ?
परिवेश बदलिँदैमा मानिसको मूल स्वभाव बदलिँदैन । हिजो पनि पतिपत्नीबिच प्रेम आवश्यक थियो, आज पनि आवश्यक छ । आज प्रविधि, भौतिक सुख र सुविधामा परिवर्तन आएकाले हिजो हिँडेर माइत जानेहरू आज गाडी चढेर जाने भए । आज खाइने खानाहरू हिजोका भन्दा फरक हुने भए । तर, तिजको मूल मर्ममा भने कुनै परिवर्तन आएको छैन ।
तिज भड्किलो र खर्चिलो भयो भन्नेहरूलाई के भन्नुहुन्छ ?
बजारीकरणले गर्दा तिज मात्र होइन, हाम्रा हरेक चाडपर्व, विवाह, व्रतबन्ध, पास्नी, जन्मदिन भड्किला र खर्चिला हुँदै गएका छन् । कुनै पनि पर्वका नाममा हामीले देखासिकी गरेर फजुल खर्च गर्नु हुँदैन । तर, रमाइलो गर्नु, साथीसँगी र आफन्तसित भेटघाट गर्नु, शरीरलाई हानि नगर्ने मिठो र स्वस्थकर खाना खानु हरेक चाडपर्वको विशेषता नै हो । यो सब परम्परा र चाडपर्वविरोधीले लगाएको व्यर्थको आरोप मात्र हो ।