७५ मेगावाटको लिखु–१ र ५०.८९ को लिखु–२ को विद्युत् बिक्री
नेपालबाट भारतको हरियाणा राज्यमा थप १२५.८९ मेगावाट विद्युत् निर्यात सुरु भरिएको छ । नेपाल बिद्युत् प्राधिकरणले यसै सातादेखि हरियाणा राज्यमा सो बराबरको विद्युत् निर्यात गर्न सुरु गरेको हो ।
भारतको नेसनल लोड डिस्प्याच सेन्टर (एनएलडिसी)ले ‘नो अब्जेक्सन लेटर’ दिएपछि ७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२ को १२५.८९ मेगावाट विद्युत् हरियाणामा बिक्री सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
हरियाणामा प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) मा विद्युत् बिक्री गर्न सुरु गरिएको हो । योसँगै भारतको हरियाणा राज्यमा मध्यकालीन सम्झौताअन्तर्गत दुई सय ३५ मेगावाट विद्युत् निर्यात हुन थालेको छ ।
प्राधिकरणले यसअघि पनि हरियाणा राज्यमा १०९ मेगावाट विद्युत् मध्यकालिन सम्झौताअन्तर्गत नै बिक्री गरिरहेको थियो । त्यसको दर भने प्रतियुनिट ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्क भारतले नै व्यहोर्नेछ ।
३ भदौमा भारतले नेपालका १२ परियोजनाका २५१ मेगावाट विद्युत् बिक्री नेपाललाई स्वीकृति प्रदान गरेको थियो । त्यसमा हरियाणामा १२५.८९ मेगावाट र बिहारमा १२५ मेगावाट विद्युत् बिक्री गर्न पाउने गरी परियोजना स्वीकृत गरेको थियो ।
स्वीकृत पाएपछि पनि भारतको नेसनल लोड डिस्प्याच सेन्टर (एनएलडिसी)ले आफ्नो प्रणालीमा विद्युत् प्रवाह गर्न नेपाल विद्युत् प्राधिकरणलाई ‘नो अब्जेक्सन लेटर’ दिनुपर्ने थियो । त्यसमा हरियाणा प्रदेशका लागि ‘नो अब्जेक्सन लेटर’ आइसकेको छ । त्यसपछि हरियाणा राज्यमा विद्युत् बिक्री गर्न सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।
प्राधिकरणले दुई चरणमा दुई–दई सय मेगावाट गरी हरियाणामा कुल चार सय मेगावाट विद्युत् बिक्री गर्ने गरी यसअघि नै एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)सँग मध्यकालीन विद्युत् बिक्री सम्झौता गरेको थियो । त्यसमा गत वर्ष जेठमा २०० मेगावाट र अहिले थप २०० मेगावाट विद्युत् बिक्री गर्ने गरी सम्झौता भएको थियो । पहिलो चरणको सम्झौताअन्तर्गतका प्रतियुनिट ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) र दोस्रो चरणका सम्झौताअन्तर्गतका प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) मा विद्युत् बिक्री गरिनेछ । पाँच वर्षसम्म हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गर्ने गरी मध्यकालीन सम्झौता गरिएको थियो, त्यो सम्झौता नवीकरण पनि गर्न सकिन्छ ।
पहिलो चरणको सम्झौताअन्तर्गत यसअघि १०९ मेगावाट विद्युत् बिक्री भइरहेको छ । दोस्रो चरणको सम्झौताअन्तर्गत अहिले १२५ मेगावाट विद्युत् निर्यात भइरहेको छ । अब पहिलो चरणको सम्झौताअन्तर्गत ९१ मेगावाट र दोस्रो चरणको सम्झौताअन्तर्गत ७५ मेगावाट विद्युत् बिक्रीको स्वीकृत आउन बाँकी छ । त्योअनुसार स्वीकृत आएमा हरियाणमा कुल चार सय मेगावाट विद्युत् मध्यकालीन सम्झौताअन्तर्गत बिक्री हुनेछ ।
बिहारमा एक साताभित्र निर्यात
प्राधिकरणले एक साताभित्र भारतको बिहार प्रदेशमा पनि मध्यकालीन सम्झौताअन्तर्गत विद्युत् निर्यात हुने बताइएको छ । गत ३ भदौमा भारतले बिहारमा पनि १० परियोजनाको १२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृत दिएको थियो । हाल त्यसअन्तर्गत भारतको एनएलडिसीले नो अब्जेक्सन लेटर दिन बाँकी छ । अब नो अब्जेक्सन लेटर लिएर त्यहाँ एक सातामा विद्युत् निर्यात सुरु गर्ने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
‘हरियाणा विद्युत् निर्यात सुरु भइसक्यो । बिहारमा निर्यात गर्न अब केही प्राविधिक प्रक्रिया पूरा हुन बाँकी छ,’ उनले भने, ‘सम्भवतः एक सातामा त्यहाँ विद्युत् निर्यात हुन बाँकी छ ।’ बिहारमा पाँच वर्षसम्म बर्खाको समयमा २०० मेगावाट विद्युत् बिकी गर्ने गरी एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)सँग सम्झौता भएको थियो । यसको विद्युत् बिक्रीदर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ ।