संकटामाथि आर्मीको सानदार जित

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण

त्रिभुवन आर्मीले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई ४–० ले पराजित गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले डेब्यु गरेको संकटालाई एकपक्षीय रूपमा हराएको हो । आर्मीको जितमा सावित्री देवीमगर, विमला चौधरी र अनिता लम्जेले गोल गरे । संकटाकी अनुशा थेबेले आफ्नै पोस्टमा गोल गरिन् । आर्मीले राष्ट्रिय टोलीबाट खेलिसकेका आधा दर्जन खेलाडीलाई मैदानमा उतारेको थियो । 

यसविपरीत संकटाले महिला लिगको डेब्यु खेलमा फुटसल खेल्ने खेलाडीलाई प्राथमिकतामा राखेको थियो । पहिलोपटक महिला लिगमा सहभागी संकटाले सेनेगल र क्यामरुनको समान एक खेलाडीलाई प्रतिस्पर्धा गराएको थियो । संकटाले लिगका लागि थप दुई खेलाडी भिœयाउने तयारी गरेको छ । संकटाका प्रशिक्षक रवीन्द्र सिलाकारले आर्मीविरुद्ध तयारी कमजोर भएको बताए । 

‘लिगको डेब्यु खेलमा तयारीविना नै आर्मीविरुद्ध खेल्यौँ । उनीहरूका सबै खेलाडी फिट छन्,’ रवीन्द्रले भने, ‘लिग खेल्दै गर्दा अभ्यास खेल पनि भएन । त्यसैले पहिलो खेल निकै कमजोर भएको हो ।’ उनका अनुसार संकटाको लक्ष्य शीर्ष पाँच हो । उनले विदेशी दुई खेलाडीको आगमनले टोली बलियो बन्ने बताए । ‘अब दुई खेलाडीको आगमनसँगै संकटाले विभागीय टोलीबाहेक अन्यलाई जित्न खेल्छौँ,’ रवीन्द्रले भने । 

संकटाले गोलरक्षकमा टेनिङ सेने र रक्षक सेलिना अनिमा विदेशी खेलाडीका रूपमा खेलाएको हो । टेनिङले पूरा समय खेलिन् । घाइते भएपछि सेलिनाले ६३औँ मिनेटमा मैदान छाडिन् । उनी घाइते हुनुअघिसम्म संकटा मात्र १–० ले पछि थियो । उनी घाइते भएपछि संकटाको रक्षापंक्ति कमजोर बन्यो । आर्मीले यसको भरपूर फाइदा लियो । आर्मीले ३० मिनेटभित्र तीन गोल गर्यो । आर्मीका सहायक प्रशिक्षक टेकबहादुर बुढाथोकीले पहिलो खेल खेल्दा तालमेल नमिलेको बताए । ‘पहिलो खेलमा तालमेल नमिलेजस्तो देखियो । हुनुपर्ने गोल पनि भएन,’ टेकबहादुरले भने । 

दीपा प्लेयर अफ दी म्याच 
संकटाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी मिडफिल्डर दीपा शाही प्लेयर अफ दी म्याच घोषित भइन् । उनले पनि पहिलो खेल हुँदा समस्या भएको बताइन् । नयाँ खेलाडीबिच तालमेल नमिलेको र अन्य खेलमा राम्रो प्रदर्शन गर्ने दीपाले बताइन् । ‘पहिलो खेल भएका कारण भनेजस्तो भएन । हामीहरूको टिममा नयाँ खेलाडी छन्,’ राष्ट्रिय टोलीकी सदस्य दीपाले भनिन्, ‘अब अरू खेलमा उत्कृष्ट प्रदर्शन गर्छाैँ ।’

पहिलो चरणमा १६ गोल 
दुई वर्षपछि सम्भव भएको महिला राष्ट्रिय लिगको पहिलो चरण सम्पन्न हुँदा १६ गोल भएका छन् । बागमतीले पहिलो खेलमा सुदूरपश्चिमविरुद्ध पाँच गोल गरेको थियो । कोशी र आर्मीले समान चार गोल गरेका छन् । सुदूरपश्चिम, चन्द्रपुर र कर्णालीले समान एक गोल गरेका छन् । पहिलो खेलमा कोशीले वालिङलाई ४–० ले हरायो । 

See More On

सुझावित समाचार