डान्स बारबाट भेला गरिएको युवायुवतीलाई घरमा लगेर शारीरिक यातना दिने धन्दामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने ३३ वर्षीय आशिष देउला, २७ वर्षीय राजेन्द्र घले, २२ वर्षीय ओजरुबी तामाङ र २२ वर्षीय साजन गुरुङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले विभिन्न प्रलोभनमा ठमेलस्थित डान्स बार तथा रात्रिकालीन क्बलबाट युवायुवतीलाई बुढानीलकण्ठस्थित निजी घरमा लिएर जान्थे।
उनीहरूलाई जबर्जस्ती नशालु पदार्थ सेवन गर्न लगाउँथे। नशामा लट्ठिएपछि उनीहरूलाई कोठामा बन्धक बनाउँथे। र, आइरनले शरीर डामी दिन्थे। यातनापछि पीडितले जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले क्लबबाट जम्मा गरिएका युवायुवतीलाई निजी घरमा लिएर जाने, नशालु पदार्थ सेवन गर्न लगाउने र त्यसपछि शारीरिक रूपमा यातना दिने धन्दामा संलग्न अभियुक्त पक्राउ परेको बताए।
उनले भने, ‘यिनीहरू राति ठमेलका क्लब जाने रहेछन्। विभिन्न प्रलोभनमा युवायुवतीलाई सँगै लिएर जाने रहेछन्। घरमा लगेपछि उनीहरूलाई जबर्जस्ती नशालु पदार्थ सेवन गर्न लगाउने रहेछन्। त्यसपछि कोठामा बन्धक बनाउने रहेछन्। र, उनीहरूलाई आइरनले शरीरमा डाम्ने रहेछन्। पीडितको जाहेरीपछि चार अभियुक्त पक्राउ परेका छन्।’
प्रहरीका अनुसार मनोरञ्जन लिने उद्देश्यले उनीहरूले युवायुवतीलाई आइरनले शरीर डाम्ने गरेका हुन्। अनुसन्धान जारी रहेको हुँदा थप तथ्य खुल्दै जाने प्रहरीको भनाइ छ।