निगमको डिजेल चोरी गर्दा रंगेहात समातिएका अभियुक्तलाई अदालतबाट सफाइ

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

तेल चोरी घटनाका दोषीलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिमको कम्तीमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवानाको माग गर्दै प्रहरीले दायर गरेको मुद्दामा कास्की अदालतले भन्यो– अभियोग दाबी पुष्टि हुन सकेन 

नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, पोखराको तेल चोरी गर्दा रंगेहात समातिएका चारैजना अभियुक्तलाई जिल्ला अदालत, कास्कीले सफाइ दिएको छ ।

गत वर्ष २५ साउनमा १२ हजार लिटर क्षमताको ट्यांकरमा १५ हजार ३८ लिटर डिजेल लगेको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय, हंसपुरले निगमको तत्कालीन पोखरा डिपो प्रमुख चित्तरञ्जन दास, पश्चिमाञ्चल टे«डर्स नामको पेट्रोलपम्पका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी–धौलागिरि डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र तेल अपचलनका लागि प्रयोग गरिएको ग.२ख ८३६ नम्बरको ट्यांकरचालक निर्मल थापालाई कारबाही गर्न मुद्दा दायर गरेको थियो ।

तर, जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले प्रमाण नपुगेको भन्दै चारैजनालाई सफाइ दिएको छ । प्रहरीले अदालतमा दोषी पाइएका दास, जम्मकट्टेल, ढुंगाना र थापाको लिखित बयान पेस गरेको थियो । तत्कालीन कार्यालय प्रमुख दासबाहेक तीनैजना घटनालगत्तै पक्राउ परेका थिए । प्रहरीसँगको लिखित बयानमा जम्मकट्टेलले आफ्नो दोष नरहेको, तर कार्यालय प्रमुख दासले फसाएको हुन सक्ने बताएका थिए ।

त्यस्तै, चालक थापाले भने कार्यालय प्रमुख दास, पम्प सञ्चालक जम्मकट्टेल र आफ्नो संलग्नतामा नियमित रूपले तेल चोरी हुँदै आएको स्वीकारेका थिए भने ढुंगानाले पनि तीनजनालाई मुख्य दोष लगाएका थिए र आफूलाई पनि चोरी घटनाबारे नियमित जानकारी भएको बयान दिएका थिए । तर, अदालतमा भने सबैले इन्कारी बयान दिएको फैसलाको पूर्ण पाठमा उल्लेख छ ।

२५ साउनको घट्नालगत्तै फरार भएका दास भने १२ कात्तिकमा अदालतमा उपस्थित भएका थिए । सोही दिन थुनछेक बहस र बयान सकाएर उनलाई अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको थियो । बारम्बार दोहोरिरहेको तेल चोरी घटना बाहिरिएपछि प्रहरीलाई लिखित बयान दिएका निगमको पोखरास्थित कर्मचारीहरू सन्तोष देवकोटा, मनोजकुमार पुर्वे र रामशरण थापाले अदालतमा भने इन्कारी बयान दिएका थिए ।

उनीहरूले सुरुमा प्रहरीसँग कार्यालय प्रमुख भएर आएयता दासले नियमविपरीत आफैँ ट्यांकरको परिमाण नाप्ने र बिल भौचरमा उल्लेख भएभन्दा बढी पेट्रोलियम निर्यात गराई लाभ लिने गरेको लिखित बयान दिएका थिए । तर, उच्च व्यवस्थापकहरूको निरन्तर दबाबपछि कर्मचारीहरूले बयान फेरेको स्रोतको दाबी छ ।

त्यस्तै चालक थापा र गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि ढुंगानाले भने प्रहरीले बयानमा भनेभन्दा फरक कुरा लेखेको, कागजमा लेखेको कुरा हेर्न नपाई हस्ताक्षर गर्न लगाएको बयान दिएका थिए । अभियुक्तहरूका तर्फबाट अदालतलाई प्रभावमा पार्न आआफ्नो साक्षीको पनि बयान गराइएको थियो । तत्कालीन कार्यालय प्रमुख दासको तर्फबाट त्यहीँ सिलकोटेसनमा काम गर्ने राजु साहले अदालतमा उपस्थित भएर दास सरल र इमानदार मानिस भएको तथा उक्त घटनामा निर्दोष रहेको बयान दिएका थिए ।

प्रहरीले भने अभियुक्तहरूको बयानलाई प्रहरी प्रमाणका रूपमा पेस गरेको थियो । त्यस्तै, तोकिएभन्दा बढी तीन हजार ३८ लिटर बढी डिजेल भेटिएको प्रमाणित कागजात पनि पेस गरेको थियो । तर, अदालतले भने पर्याप्त प्रमाण नपुगेकाले दोषी ठहर नहुने फैसला गरेको फैसला गत ९ जेठमा गरेको थियो । यसको पूर्ण पाठ भर्खरै आएको हो । 

के थियो घटना ?
गत वर्ष २५ साउनमा १२ हजार लिटर डिजेल बोकेको ग.२ख ८३६ नम्बरको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय संयोजकत्वको टोलीले समातेको थियो । पश्चिमाञ्चल टे«डर्सको सो ट्यांकर बिल भौचरभन्दा तीन हजार ३८ लिटर बढी डिजेल लगेको अवस्थामा फेला परेको थियो ।

कार्यालयका शाखा अधिकृत नवराज बरालको नेतृत्वमा इलाका प्रहरी कार्यालय हंसपुरका प्रमुख प्रहरी नायब निरीक्षक प्रकाश दाहाल, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, स्थानीयवासीसहितको टोलीले ट्यांकरलाई नियन्त्रणमा लिएको थियो ।

घट्नाको अनुसन्धानको जिम्मा पाएको इलाका प्रहरी कार्यालय हंसपुरले २९ साउनमा जिल्ला अदालत कास्कीमा चारजनाविरुद्ध ठगी मुद्दा दर्ता गरेकोे थियो । लगत्तै ३० साउनमा चारजनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको थियो । कार्यालय प्रमुख चित्तरञ्जन दास भने २५ साउनदेखि भागेर फरार थिए । उनी २१ कात्तिकमा आफैँ अदालतमा उपस्थित भएका थिए ।

सुझावित समाचार