माओवादीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरले ६ वर्षअघि बलात्कापछि हत्या गरेर उखुबारीमा फ्याँकिएकी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गरेको छ । लेखक गृहमन्त्री भएपछि ५३ दिनमा पहिलोपटक गृहनगर महेन्द्रनगर पुगेका वेला माओवादीनिकट महिला संगठनले निर्मलाका हत्यारा बलात्कारी यथाशीघ्र सार्वजनिक गर्न माग अघि सारेको हाे ।
महिला अधिकारकर्मीसमेत रहेकी माओवादी नेतृ माया नेगीले निर्मलाको हत्या भएको ६ वर्ष पूरा भएर सात वर्ष लाग्दा पनि सरकारले हत्यारा सार्वजनिक गर्न नसकेको अवस्थामा यसअघि गृह मन्त्रालय अन्य जिल्लाले पाएको र अहिले आफ्नै नगर, जिल्लाले पाएको अवस्थामा अपेक्षासहित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताइन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष शान्ति शाहीले निर्मलाको न्यायका लागि अहिलेका गृहमन्त्री लेखकसँग आशा भएको बताइन् । ‘अहिले निर्मलाकै गृहनगरले गृहमन्त्री पाएको छ,’ उनले भनिन, ‘यतिवेलामा पनि निर्मलाले न्याय नपाए कहिले पाउने ?’ शाहीले उतिवेला एमाले–माअोवादी सरकार हुँदा कांग्रेस कञ्चनपुरका नेता–कार्यकर्ताहरूले निर्मलाका हत्यारा खै ? भन्दै सरकारविरुद्धमा सडक तताउने अहिले कांग्रेसले नै गृृहमन्त्री पाएकाले निर्मलाका हत्यारा सार्वजनिक गर्न ढिलासुस्ती गर्न नहुने बताइन् । साथै महिला संघले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको समेत माग गरेकाे छ ।
सीमाक्षेत्र गड्डाचौकी नाकामा भारतीय र नेपाल पक्षबाट भइरहेको आतंक रोक्नुपर्ने, आरक्षपीडितको पुनर्स्थापना, महिलाको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन् । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले आफू निर्मलाको न्यायका लागि गम्भीर भएर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।