लामो समयदेखि अलपत्र रहेको तुलसीपुरको बायोग्यास प्लान्ट सञ्चालन भएको छ । मासु बधशालालाई व्यवस्थित गर्नका लागि ०७३ सालमा बायोग्यास प्लान्ट निर्माण गरिए पनि त्यो सञ्चालन हुन सकेको थिएन । तर, अहिले त्यो सञ्चालन अवस्थामा छ । अहिले दुईवटामा मात्रै ऊर्जा खपत भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए। ‘ग्यास प्लान्ट सञ्चालन भएको छ, तर त्यसलाई विस्तार गर्न सकिएको छैन,’ उनले भने, ‘अहिले दुई घरले मात्रै त्यहाँबाट उत्पादन भएको ऊर्जा प्रयोग गर्नुभएको छ ।’
खसीमासु बधशाला र राँगा–भैँसी बधशालामा गरी दुईवटा ग्यास प्लान्ट छन् । तीमध्ये खसी बधशालाबाट उत्पादन भएको ऊर्जा, सोही ठाउँमा नै प्रयोग भएको छ भने राँगा–भैँसी बधशालाबाट उत्पादन भएको ऊर्जा भावना चौधरीको घरमा प्रयोग भएको मासु व्यवसायी समितिका कार्यालय सचिव तेजबहादुर खड्काले बताए ।
त्यसलाई निरन्तरता दिनका लागि नियमित पहल गर्ने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । ‘मैले त्यहाँ बायोग्यास प्लान्ट अलपत्र देखेपछि प्राविधिक बोलाएर सञ्चालन गर्ने काम भयो,’ उनले भने, ‘यसलाई निरन्तरता दिनका लागि पनि पहल गर्नेछु ।’
२० लाखको लागतमा त्यहाँ बायोग्यास प्लान्ट निर्माण गरिएको हो । त्यहाँ ४१ वटा मासु पसल रहेका छन् । लामो समयदेखि मासु बधशालामा अलपत्र रहेको ग्यास प्लान्टबाट वैकल्पिक ऊर्जा उत्पादन सुरु भएपछि मासु व्यवसायी पनि खुसी भएको सचिव खड्काले बताए ।