महोत्तरीको रामगोपालपुर नगरपालिका– २ का वडाध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न राजनीतिक दलका नेताले सामूहिक रूपमा माग गरेका छन् ।
माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताले अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल गरिदिन आज माग गरेका हुन् । वडाध्यक्ष यादवको यही भदौ ९ गते बर्दीबास नगरपालिका– १२ को सडकछेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो । उक्त घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटना नभएर हत्या भएको हुन सक्ने भन्दै ज्ञापनपत्रमा अनुन्धानको माग गरिएको छ ।
भदौ ८ गते साँझ केही शंकास्पद व्यक्तिले बोलाएको, घटनास्थल र शवको प्रकृति हेर्दा दुर्घटनाबाट मृत्यु भएजस्तो नदेखिएको, शव परीक्षण रिपोर्टबाट टाउको र छातीमा चोट देखिएको, टाउको र छातीमा वजनदार वस्तुले प्रहार भएको पाइएको थियो ।
यस्तै, मोटरसाइकलको हेल्मेटमा केही क्षति नभएको, बरु हेल्मेट लकसहित निकालेर राखेको, मोटरसाइकल स्टार्ट बन्द गरिएको अवस्थामा राखिएको आदि कारणले दुर्घटना नभई हत्या भएको हुन सक्ने ज्ञापनपत्रमा उल्लेख छ ।
शव परीक्षणका लागि काठमाडौं लगिएपछि अर्को दिन शंकास्पद व्यक्तिलाई प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको भन्दै यी विभिन्न परिस्थिति, वातावरण, शवको प्रकृति, समय र मुकेशसँग सम्पर्कमा रहन पुगेका व्यक्तिसँग गम्भीरतापूर्वक छानबिन गरेमा सत्यतथ्य पत्ता लाग्ने उल्लेख गर्दै ज्ञापनपत्रमा प्रहरी प्रशासन यसप्रति गम्भीर नभएकाले केन्द्रीय अनुसन्धान ब्युरोबाट नै छानबिनका लागि पहल गरिदिन आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले सो घटनालाई आफूले गम्भीर रूपमा लिएको बताए। मधेश–तराई क्षेत्रमा रहेको सुरक्षा चुनौतीबारे जानकार रहेको र अवस्था सुधारका लागि आफू सरकारमा रहँदा सूक्ष्म ढंगले अभियान चलाएको उनले जानकारी दिए।
माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षको मृत्यु र तराईमा भइरहेका हत्या–हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाए।
सर्वदलीय रूपमा मागपत्र बुझाउन माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल, नेपाली कांग्रेसका नेता महेन्द्रकुमार राय, जसपा नेपालका नेता डा. सुरेन्द्रकुमार यादव, माओवादी केन्द्रका नेता भरत साहलगायत परिवारका सदस्य सहभागी थिए ।