गाउँलेमा झाडापखाला, ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने समस्या, बिरामीको दिसामा हैजा फैलाउने जीवाणु नभेटिएको भेरी अस्पतालको भनाइ
बाँकेको नरैनापुर गाउँपालिका– ३ गेग्लीमा पाँच दिनमा चारजनाको मृत्यु भएको छ । बुधबारदेखि आइतबारसम्म झाडापखालाबाट एकै परिवारका तीन र ज्वरोका कारण एक गरी चारजनाको मृत्यु भएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।
झाडापखालाबाट १२ भदौमा ३८ वर्षीया उषादेवी पासी र सोही गाउँका १० वर्षीय युसुफ अलि शेषको मृत्यु भएको थियो । १४ भदौमा मृतक उषादेवीको घरमा बस्दै आएकी ६५ वर्षीया शान्ति पासी र १६ भदौमा १२ महिनाकी नन्दनी पासीको मृत्यु भएको साहले बताए । शान्ति बहिनीको घरमा बस्दै आएकी थिइन् ।
बालक युसुफ अलि शेखको ज्वरो र टाउको दुख्ने समस्याबाट मृत्यु भएको उनले बताए । ‘११ भदौ राति करिब १२ बजेतिर युसुफलाई ज्वरोसँगै टाउको दुख्यो । दोस्रो दिन बिहान उनलाई उपचारका लागि भारतको भिंगा लगियो । उपचारपछि घरमा ल्याइयो, तर उनको स्वास्थ्य अवस्था झनै बिग्रियो । १२ भदौ दिउँसो करिब २ बजेतिर युसुफको मृत्यु भयो,’ स्वास्थ्य शाखा प्रमुख साहले भने ।
उषा, नन्दनी र शान्तिलाई भने झाडापखाला लागेको मृतक उषाका ससुरा श्यामलाल पासीले बताए । ‘सुरुमा पेट दुखेपछि नरैनापुरको क्लिनिकमा उपचार गरायौँ । औषधि सेवन गर्दा पनि निको भएन । थप उपचारका लागि भारतको भिंगा लैजाने क्रममा बुहारी उषाको र नातिनी नन्दनीको घोरदैया लैजाने क्रममा बाटोमै मृत्यु भयो,’ उनले भने, ‘शान्तिको घरमै मृत्यु भएको हो ।’
श्यामलालको घरकै एक बालिका, एक बालक र छिमेकी महिलामा समेत झाडापखालाको समस्या देखिएको थियो । बालिका र एक महिला गाउँमै उपचारपछि निको भएका छन् । बालक नितेशलाई उपचारका लागि भेरी अस्पतालमा ल्याइएको छ । उनको स्वास्थ्य अवस्था सुधार भइसकेको अस्पताललाई उद्धृत गर्दै स्वास्थ्य शाखा प्रमुख साहले बताए । गाउँका अन्यमा झाडापखालाको समस्या नदेखिएकाले हैजा भन्न नमिल्ने उनले दाबी गरे । उनले मृतकको घरसँगै जोडिएका एकजनालाई पनि झाडापखाला लागेको बताए । ‘सँगै जोडिएको घरका एकजनालाई पनि झाडापखाला लागेकाले तरकारी वा अचार साटासाट गरी खाएको हुन सक्छ,’ साहले भने ।
बालक नितेशको दिसा जाँच गर्दा हैजा फैलाउने कोलेरा जीवाणु फेला नपरेको उनले बताए । ‘झाडापखालाले ग्रसित बालक नितेशको भेरी अस्पतालमा दिसा जाँच गर्दा हैजा फैलाउने कोलेरा जीवाणु फेला नपरेको प्रारम्भिक रिपोर्ट आएको छ,’ उनले भने । पानी र अचार परीक्षणका लागि नेपालगन्ज ल्याइए पनि रिपोर्ट नआएको साहले बताए । मंगलबारसम्म रिपोर्ट आउने बताउँदै उनले त्यस आधारमा उपचार र थप फैलिन नदिन अभियान थाल्ने बताए । ‘आँपको अचार खाएदेखि पेट दुख्ने र झाडापखाला सुरु भएको देखिन्छ । अचारले हो या पानीले हो भन्ने रिपोर्ट आएपछि कारण खुल्ला,’ उनले भने ।
हैजा फैलिएको हल्ला फैलिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल १९ नम्बर गणका गणपति एसपी विमल डाँगी, स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीलगायत खानेपानी परीक्षण कार्यालयका प्रमुखलगायतको टोली नरैनापुर पुगेर मृतकका परिवारसँग भेटघाट गरेको थियो ।
चारजनाको मृत्युपछि गाउँमा स्वास्थ्यकर्मी परिचालन
झाडापखालाको प्रकोप देखिएको जानकारी पाउनेबित्तिकै नरैनापुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी रातभर गेग्लीमा खटेर स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरिरहेको पालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए । स्वास्थ्यकर्मीले पानी शुद्धीकरण गर्ने पियुषसमेत वितरण गरेको उनको भनाइ छ । ‘पानी उमालेर र पियुष हालेर पिउन सिकाउन स्वास्थ्यकर्मी परिचालन भएका छन् । झाडापखाला फैलिएको भनिएको गाउँका सर्वसाधारणको स्वास्थ्य जाँच गरी औषधि वितरणसमेत भइरहेको छ,’ उनले भने ।
गेग्ली गाउँमा झाडापखालाभन्दा ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख साहले बताए । ‘रातिबाट स्वास्थ्य जाँच भइरहेको छ, तर झाडापखालाभन्दा ज्वरो आउने र टाउको दुख्ने बिरामीको संख्या अधिक छ,’ उनले भने, ‘यो समयमा गर्मी अत्यधिक हुने र पानी पर्ने भएकाले ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको हो । यो वर्ष मात्र होइन, अन्य वर्षमा पनि यस्तो समस्या देखिन्छ ।’ गेग्ली गाउँमा अहिले ज्वरो आउने र टाउको दुःख्नेको संख्या चार दर्जनभन्दा बढी रहेको स्थानीयको भनाइ छ । तर, समयमै उनीहरूले उपचार भने पाएका छैनन् ।