डिडिसीलाई एक अर्ब २६ करोड सरकारी ऋण

ऋण लिँदै कर्मचारीको तलब–भत्तामा खर्चिँदै आएको डिडिसी दीर्घकालीन समस्या समाधानमा छैन गम्भीर

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

नगदमा दुध बिक्री गरेर किसानको उधारो भुक्तानी नगरेको दुग्ध विकास संस्थान (डिडिसी)लाई सरकारले तत्कालै ६० करोड रुपैयाँ ऋण दिने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नियमित बजेटबाट रकमान्तर गरेर डिडिसीलाई ६० करोड ऋण दिन अर्थले स्वीकृति दिएको हो । यो ऋण अब मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि डिडिसीको थाप्लोमा कुल सरकारी ऋण एक अर्ब २६ करोड पुग्नेछ । 

सोमबारको मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराउने तयारी थियो । तर, बैठक नबसेका कारण अर्को मन्त्रिपरिषद्बाट निर्णय गर्ने तयारी भएको कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जानकारी दिए । ‘आज (सोमबार) मन्त्रिपरिषद् बैठक बसेन । त्यसैले केही निर्णय भएन । अब अर्को बैठकमा निर्णय भयो भने यो कुरामा बोल्छु,’ उनले भने, ‘डिडिसीलाई ऋण दिने कुरा सकारात्मक नजिताका लागि भएको छ ।’

सरकारले डिडिसीलाई पहिलोपटक कोरोना महामारीको लकडाउनलगत्तै ०७८ असारमा २० करोड ऋण दिएको थियो । त्यतिबेला पनि किसानको बक्यौता भुक्तानी गर्ने सर्तमा ऋण दिइएको थियो । त्यसपछि ०७९ बैशाखमा मेसिनरी सुद्धृढिकरणका लागि १५ करोड र ०८० चैतमा किसानको बक्यौता भुक्तानी गर्न भन्दै थप ३० करोड ऋणदिएको थियो । चालू आव ०८१/८२ को बार्षिक बजेटमै डिडिसीलाई १ करोड ऋण दिने प्रयोजनका लागि रकम छुट्याइएकोमा फेरि अहिले थप ६० करोड थप्न लागेको हो । डिडिसीले साढे तीन बर्षको अवधिमा पाँचपटक गरेर लिएको सबै ऋणको भुक्तानी अवधि औषतमा १० बर्ष राखिएको छ भने ५ प्रतिशत ब्याजदर तोकिएको छ । 

किसानको बक्यौता सल्टाएपछि डिडिसीको दीर्घकालीन सुधारमा केन्द्रित हुनेछौँ : डा. राजेन्द्रप्रसाद मिश्र सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालय

किसानले वर्षौँदेखि भुक्तानी नपाएको समस्या समाधान गर्नु पहिलो प्राथमिकता हो । त्यसैले डिडिसीले ६० करोड ऋण पाएपछि सो रकम किसानको भुक्तानीमा खर्च गर्न लगाउनेछौँ । किसानको समस्या समाधान भएपछि डिडिसीको दीर्घकालीन सुधारका कामहरू थाल्नेछौँ । डिडिसीभित्रका समस्या र समाधानका उपायबारे आवश्यक छलफल गरेर कार्यान्वयन गरिनेछ ।

डिडिसी सुधारका लागि बारम्बार निर्देशन दिएपनि कार्यान्वयन गर्नुको सट्टा सरकारबाट ऋण लिने र अल्पकालीन समाधान खोज्ने विकल्प मात्रै प्रयोग गर्दै आएको छ । डिडिसी व्यवस्थापनले दीर्घकालीन सुधारको योजना नबनाउँदा समस्या बल्झिरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताए । 

‘डिडिसीलाई दीर्घकालीन रुपमै सुधार गर्ने योजना प्राथमिकतामा छैन । यो बिषयमा छलफल गरेर निष्कर्ष निकालिनेछ,’ उनले भने, ‘अहिलेलाई पनि किसानको समस्या सल्टाइहालौं भनेर ऋण निकासा गर्न लागिएको हो ।’ उनले किसानको समस्या अल्पकालीन भएको र यसलाई सम्बोधन गरेर दीर्घकालीन समाधानमा केन्द्रित हुन सजिलो हुने बताए । डिडिसीले किसानको सवा अर्बभन्दा बढी भुक्तानी गर्नुपर्ने दायित्व छ ।

ऋणको पैसा कर्मचारीको तलब भत्तामा खर्च
डिडिसीले ऋण लिएको रकम तोकिएको क्षेत्रमा नभई कर्मचारीको तलब, भत्तामा खर्च गर्दै आएपनि सरकारले नियमन गर्न सकेको छैन । कोभिडलगत्तै किसानको भुक्तानी सहज गर्न दिएको २० करोडमध्ये ८ देखि १० करोड रुपैयाँसम्म प्रशासनिक खर्च गरेको आरोप लागेको थियो । ४ बैशाख, ०७९ मा सम्झौता भई लगेको १५ करोड रुपैयाँ मेसिनरी सुदृढीकरणमा खर्चनुपर्ने सर्तबिपरित एक करोड ८२ लाख मात्रै नयाँ मेसिनरी किन्न खर्च गरेको र बाँकी १३ करोड १७ लाख कर्मचारीको तलब, भत्तामा खर्चेको छानबिन समितिबाटै पुष्टि भएको थियो ।

त्यस्तै, गत चैतमा किसानको बक्यौता तिर्न भनेर लिएको ३० करोड रुपैयाँ ऋण लिएको, तर सोमध्ये १३ करोड तलब र भत्तामा खर्च गरेको छ । यसपालि लिन लागेको ६० करोडमध्ये केही रकम तलब भत्तामा खर्चने योजना डिडिसीको छ । तर, अर्थले ऋण स्वीकृति गर्दा किसानको बक्यौता तिर्नबाहेक अन्य शीर्षकमा खर्च गर्न नपाइने सर्त तोकेको मन्त्रालयका एक अधिकारीले बताए ।

कृषि मन्त्रालयका सचिव डा. मिश्र किसानको बक्यौता सल्टाएपछि डिडिसीको दीर्घकालीन सुधारमा केन्द्रित हुने बताउँछन् । ‘किसानले बर्षौंदेखि भुक्तानी नपाएको समस्या समाधान गर्नु पहिलो प्राथमिकता हो । त्यसैले डिडिसीलाई ६० करोड रुपैयाँ ऋण दिएपछि सो रकम किसानको भुक्तानीमा खर्च गर्न लगाउँछौं,’ उनले भने, ‘किसानको समस्या समाधान भएपछि डिडिसीको दीर्घकालीन सुधारका कामहरू थाल्नेछौं । डिडिसीभित्रका समस्या र समाधानका उपायबारे आवश्यक छलफल गरेर कार्यान्वयन गरिनेछ ।’

जीर्ण अवस्थामा डिडिसी
दुई अर्ब १८ करोडबराबर कुल सम्पत्ति रहेको डिडिसीको सञ्चित नोक्सानी र ऋणको दायित्व भने दुई अर्ब ५५ करोड पुगेको छ । सुधारका उपायहरू अवलम्बन नगर्दा बर्षेनी डिडिसीको बित्तीय अवस्था खस्कँदै गएको छ । कतिसम्म भने, आर्थिक अभावकै कारण संस्थाले गत २ साउनमा  ५६औँ वार्षिकोत्सवसमेत मनाउन सकेन । वार्षिकोत्सवका अवसरमा २५ वर्ष सेवा अवधि पूरा गरेका करिब ७५ कर्मचारीलाई सुन र चाँदीजडित दीर्घसेवा पदकबाट सम्मान गर्नुपर्ने थियो । डिडिसीको कर्मचारी प्रशासन विनियमावलीमा यस्तो व्यवस्था छ । तर, करिब ७५ लाख रुपैयाँ खर्च जुटाउन नसकेपछि बार्षिकोत्सव नै रद्ध भएको थियो ।

See More On

सुझावित समाचार