अन्तरिक्ष स्टेसनमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर सन् २०२५ मा मात्र पृथ्वीमा फर्कने भएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाले सो जानकारी दिएको हो । विलियम्स र विल्मोरको अन्तरिक्ष यात्रा सुरुमा छोटो समयका लागि तय गरिएको थियो ।
बोइङको स्टारलाइनर अन्तरिक्षयानमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)मा पुगेका उनीहरू करिब तीन महिनादेखि त्यही फसेका छन् । जुन ५ मा अन्तरिक्ष प्रस्थान गरेका उनीहरू जुन १३ मा पृथ्वीमा फर्किने तालिका थियो । तर, यानमा अप्रत्याशित समस्या देखिएपछि पृथ्वीमा फर्किने समय लम्बिएको हो ।
उनीहरू सवार यानमा हिलियम चुहावट भएको थियो। एक हप्ताभित्र पृथ्वीमा फर्कने तालिकाअनुसार उनीहरूले न्यूनतम व्यक्तिगत सामग्री अन्तरिक्षमा लगेका थिए । तर, उनीहरू सन् २०२५ को सुरुसम्म आइएसएसमा नै रहने नासाले जनाएको छ ।