निजी क्षेत्रले गुनासो गर्न छाड्नुपर्छ : अर्थमन्त्री पौडेल

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन् । सरकार गठनपछि अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको उनले बताए । 

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको बताए । सोहीकारण पुँजी बजार, रियल इस्टेट ऋण प्रवाह बढ्दै गएको बताए । अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताए ।

मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताए । उनले भने, ‘निजी क्षेत्रले पनि अब गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्छ ।’

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचक सहज बन्दै गएको बताए । उनले भने, ‘चालू आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रूपमा समाधान गर्दै जानेछौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको बताए । बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्न सक्ने उनको भनाइ छ । 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको बताए । ‘बाह्य क्षेत्र सन्तुलनमा छ । बजारमा तरलता पर्याप्त छ । ब्याजदर पनि घटेको छ । तर, अहिले आयात र निर्यात घेटेको छ । यसको अर्थ बजारमा माग बढ्न सकेको छैन भन्ने हो,’ उनले भने । 

सुझावित समाचार