नेपाल फुटबल खेलाडी संघले डिभिजन लिगको साइकल पूरा गर्न अखिल नेपाल फुटब संघ (एन्फा)लाई ज्ञापनपत्र बुझाएको छ । एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग र ‘सी’ डिभिजन लिग पूरा गरे पनि ‘बी’ डिभिजन लिग भने दुई वर्ष देखि आयोजना गर्न सकेको छैन।
संघले समयमै लिग नहुँदा खेलाडी मर्कामा परेको भन्दै यथाशीघ्र मिति तय गरेर प्रतियोगिता गर्न आग्रह गरेको छ। ‘गत वर्षकै क्यालेन्डरमा समावेश भएको ‘बी’ डिभिजन लिग आयोजना हुन नसक्दा यसले फुटबल खेलाडीहरुलाई मात्र नभई फुटबललाई नै असर गरेको छ,’ पत्रमा भनिएको छ।
‘नयाँ सिजन सुरु हुनुपर्ने समयमा पनि गत सिजनको लिग नसकिँदा त्यसले प्रत्यक्ष प्रभाव पारेको छ। तसर्थ नेपाल फुटबल खेलाडी संघ घरेलु फुटबल संरचनाअन्तर्गतको ‘बी’ डिभिजन लिग क्लबहरुसँग समन्वय गरी यथाशीघ्र मितिमा तोकेर संचालनमा ल्याउन आग्रह गर्छौँ।’
यसअघि एन्फा र सहभागी १४ क्लबबीच पटकपटक बैठक बसे पनि लिग हुन सकेको छैन। क्लबहरुले पाउनुपर्ने बक्यौता रकम नपाएको र एन्फाले तयारी खर्च पनि नदिएपछि प्रतियोगिता हुन सकेको छैन।
खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र बुझाए। कार्यक्रममा एन्फा उपाध्यक्ष दीपक खतिवडा र महासचिव किरण राई सहभागी थिए। खेलाडीमा विक्रमसहित राष्ट्रिय टोलीका सदस्य लाकेन लिम्बू, एरिक विष्ट, विशाल श्रेष्ठ, सनिस श्रेष्ठ, विकेश कुथु, नवीन लामालगायत दुई दर्जन बढी थिए ।
त्यस्तै, ‘ए’ डिभिजन लिग सकिएको झन्डै एक वर्ष बित्न लाग्दा पनि मिति तय नभएको भन्दै खेलाडी संघले दुखेसो पोखेको छ । नेपाल सुपर लिग (एनएसएल) को अनिश्चितताले खेलाडीहरुलाई अझ त्रसित बनाएको र प्रतियोगिताको सुनिश्चितता गर्न आग्रह गरेको छ ।
‘फुटबल खेलाडी दिन प्रतिदिन विदेशिनुले समग्र नेपाली फुटबललाई परेको प्रभाव कसैसामु अछुतो छैन । लिग फुटबल नभएको अवस्थामा मोफसलका प्रतियोगिताले जीवनयापनमा सहयोग पुर्याएको यहाँहरुलाई विदितै छ । अब मोफसलका प्रतियोगिता पनि सुरु हुने क्रम बढेको अवस्थामा एन्फाले क्यालेन्डरमा ‘ए’ तथा ‘बी’ डिभिजन लिगहरुलाई समावेश गरेर सहजीकरण गर्दा अझ प्रभावकारी हुने संघको विश्वास छ,’ पत्रमा भनिएको छ।