जिल्ला प्रशासन कार्यालय कास्कीले ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरिएको केन्द्रमा स्टाफ नर्स र बेडसँगै आवश्यक औषधिहरू निःशुल्क उपलब्ध हुने बताइएको छ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले एक समारोहबिच आइतबार केन्द्रको उद्घाटन गरेका हुन्। ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु आजको आवश्यकता रहेको र उनीहरू समाजको ऐना भएको उल्लेख गरेका थिए। उनीहरूको सेवामा समर्पित हुनु सरकारको कर्तव्य रहेको भन्दै सञ्चालनमा आएको केन्द्र आफ्नो लक्ष्यअनुसार प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिकको भिड देखेर उनीहरूको स्वास्थ्य सुरक्षाका लागि केन्द्रको स्थापनासँगै सञ्चालनमा ल्याएको बताए । कार्यालयले सेवाग्राहीलाई विश्राम कक्षमा नै पुगेर सेवा प्रवाह गर्ने गरी काम गर्ने र उनीहरूलाई सेवा लिनका लागि लाइनमा बस्नु नपर्ने गरी आफूहरूले काम गर्ने बताएका थिए।