काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो सोमा प्रदर्शनमा राखिएका स्काइवेल विद्युतीय गाडी ९९ वटा बुकिङ भएका छन् । भदौ ११ गतेदेखि सुरु भएको नाडा अटो सो १६ भदौ (आज) मा सम्पन्न हुँदै छ । १५ भदौसम्म आउँदा ९९ वटा गाडी बुकिङ भइसकेको विक्रेता कम्पनी जी मोटर्सले जानकारी दिएको छ ।
यो उच्च रेन्ज दिने चिनियाँ विद्युतीय गाडी हो । नेपालमा यसको विक्रेता जी मोटर्स रहेको छ । शनिबारसम्म ९९ वटा गाडी बुकिङ भइसकेको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । आइतबार अन्तिम दिन थप ५० भन्दा बढी गाडी बुकिङ हुने विश्वास रहेको उनले बताए ।
‘यो गाडीको विशेषता राम्रो छ । तसर्थ, यसमा आमग्राहकको आकर्षण पनि उच्च देखिएको छ,’ उनले बताए । यो गाडी एकपटक फुल चार्ज गरेपछि ६ सय २० किलोमिटरसम्म गुडाउन सकिन्छ । नाडा अटो सोमा बुकिङ गरेमा चार लाख १० हजार रुपैयाँसम्म छुट पाउन सकिन्छ । विशेषता र क्षमताका आधारमा ८० लाख रुपैयाँभन्दा बढी मूल्यका गाडी रहेका छन् ।