दुई वर्षपछि महिला फुटबल लिग हुँदै

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

पंकजविक्रम नेम्वाङ नेतृत्वमा आएको दुई वर्षपछि आजबाट राष्ट्रिय महिला फुटबल लिग सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लोपटक ३० चैत ०७८ मा महिला लिग गरेको थियो । झन्डै साढे दुई वर्षपछि हुनलागेको महिला लिगमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विभागीय तीन टिमसहित डिभिजन लिगबाट अन्य दुई टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रदेशबाट कोशी र सुदूरपश्चिम तथा यसअघि नै लिग खेलिसकेका चन्द्रपुर र वालिङले लिगमा सहभागिता जनाउनेछन् । उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका प्रतिस्पर्धा गर्नेछन् । 

यसअघि एन्फाले लिगको आधा (२८) खेल मात्रै खेलाएर शीर्षस्थानमा रहेको एपिएफ क्लबलाई विजेता घोषणा गरेको थियो । कर्माछिरिङ शेर्पाले आफ्नो अन्तिम कार्यकालमा चितवनको शारदानगरमा महिला लिग आयोजना गरेका थिए । पहिलो चरणको लिग सकिएपछि दोस्रो चरण विराटनगरमा गरिने तयारी थियो । तर, त्यही समय एन्फामा निर्वाचन भयो । शेर्पा पराजित हुँदा नेतृत्वमा तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आए । तर, उनले रोकिएको अपूर्ण लिगलाई पूर्ण गर्नुको सट्टा १७ फागुन ०७९ मा लिग टुंगिएको घोषणा गरे । शीर्ष स्थानमा रहेको विभागीय टोली एपिएफ क्लबलाई विजेता घोषणा गरियो ।

विभागीय टोली नै उपाधिको दाबेदार
सदाझैँ यसपटक पनि विभागीय टोली नै उपाधि दाबेदार देखिएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले उपाधि जित्ने दाबी गरेका छन् । वर्तमान राष्ट्रिय टिममा पनि विभागीय टोलीकै खेलाडी छन् । त्यसमा पनि साबिक विजेता एपिएफ बलियो देखिन्छ । एपिएफ दुई दिनअघि मात्रै एएफसी च्याम्पियन्स लिग खेलेर मलेसियाबाट फर्किएको छ । 

तर, एपिएफसँग गत सिजन ७ खेलमा १४ गोल गरेकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी हुनेछैनन् । उनी फ्रेन्च लिग खेल्न फ्रान्स पुगेकी छिन् । त्यस्तै, एपिएफका आधा दर्जन खेलाडीलाई युरोपसँगै एसियाका उत्कृष्ट लिग खेल्न प्रस्ताव आएको छ । राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेशी लिग खेल्न गए एपिएफलाई उपाधि जोगाउन कठिन हुनेछ । यस्तो अवस्थामा पुलिस र आर्मीले फाइदा उठाउन सक्छन् । एपिएफपछि पुलिस र आर्मीमा राष्ट्रिय टिम तथा उमेर समूहका खेलाडी प्रभाव बढी छ । 

यता, एन्फाले हरेक टोलीलाई चारजना विदेशी खेलाडी अनुबन्ध गर्न स्वीकृत दिएको छ । त्यसैले पनि विभागीयबाहेक अन्य टिम पनि बलिया हुने अनुमान गरिएको छ । संकटा क्लबका प्रशिक्षक रवीन्द्र शिलाकारले अभ्यास राम्रो नभएको बताए । ‘हामीले तयारी नै राम्रो गर्न सकेनौँ । टोली सात–आठ महिनाबाटै बनाएका हौँ । तर, अभ्यासका लागि मैदान नै भएन,’ उनले भने, ‘विदेशी खेलाडी राम्रो भएकाले हामी प्रतिस्पर्धा राम्रै दिन्छौँ ।’

पहिलो चरणमा ४५ खेल
१० टिम सहभागी हुने लिगको पहिलो चरणमा ४५ खेल आयोजना हुनेछन् । पहिलो चरणमा ४५ खेलपछि तालिकाको शीर्ष पाँच टिमबीच लिग खेल हुनेछ । उत्कृष्ट चार टिमबिच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछ । लिगका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । सहभागी १० टिमले नै आफ्नो तयारी पूरा भएको बताएका छन् ।

विजेतालाई १० लाख 
एन्फाले प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख नगद पुरस्कार प्रदान गर्ने बताएको छ । उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टिमलाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५० हजार र प्लेयर अफ द म्याचलाई पाँच हजार प्रदान गरिने प्रवक्ता सुरेश शाहले बताए । 

See More On

सुझावित समाचार