दलित किशोरीलाई बलात्कार गरेर हत्या प्रयास गर्न खोज्ने र साक्षीहरूलाई समेत ज्यान मार्ने धम्की दिँदै आएका फरार अभियुक्तलाई एक हप्ताभित्र पक्राउ नगरे अनशन बस्ने कोशी प्रदेशका सांसदले चेतावनी दिएका छन्।
उदयपुर घर भई पीडकको डरत्रासले झापाको दमक बसेर पढ्दै आएकी विश्वकर्मा थरकी किशोरीलाई बलात्कार गरेर फरार भएका अभियुक्त सिराहा सखुवानान्कारकट्टी ५ घर भएका ३२ वर्षीय अमितकुमार यादवले प्रमाण मेटाउन बालिकाको ज्यान लिने प्रयास गरेको र साक्षीहरूलाई समेत अदालतमा बयान दिए मार्ने धम्की दिँदै आएकोले प्रहरीले एक हप्ताभित्र पक्राउ नगरे अनशन बस्ने कोशी प्रदेशका सांसद गोपाल विश्वकर्माले चेतावनी दिएका हुन्।
शुक्रबार कोशी प्रदेश सभा बैठकको शून्य समयमा बोलेका झापाबाट निर्वाचित राप्रपाका सांसद गोपाल विश्वकर्माका अनुसार ५ साउन २०७९ मा आफैँले पढाउने दलित बालिका बलात्कार गरेर फरार रहेका अभियुक्त अमितकुमार यादवले १५ वैशाख ०८१ मा डरत्रासले विस्थापित भएकी पीडित बालिका पढ्दै आएको झापाको दमकमै आफैँ आएर गोली हानेर मार्ने प्रयास गरेका थिए। यति मात्र नभएर घटनाको पक्षमा साक्षी बसेका स्थानीयहरू र आफन्तलाई समेत फरार अभियुक्त यादवले अदालतमा गएर बयान दिएमा कसैलाई पनि नछाडने भन्दै फोनमार्फत धम्की दिइरहेका छन्।
सांसद विश्वकर्माका अनुसार आफैँले पढाउने बालिकालाई बलात्कार गरेपछि फरार भएका अस्थायी शिक्षक अमितकुमार यादवले सुरुमा मुद्दा दर्ता नगराउन पीडित बालिका र उनको परिवारलाई धम्की दिएका थिए। तर, प्रहरीले बलात्कार कसुरमा मुद्दा दर्ता गराएपछि मुद्दा फिर्ता नलिएको भन्दै अभियुक्त्त यादवले प्रमाण मेटाउन पीडित बालिकालाई झापाको दमकमै पुगेर गोली हानेर मार्ने प्रयास गरेका थिए। तर, बालिका संजोगले बाँच्न पुगेकी थिइन्। इप्रका दमकले पनि फरार अभियुक्त्त यादवविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको छ। तर, अझैसम्म फरार रहेका यादव पक्राउ परेका छैनन्। उदयपुर प्रहरीले बलात्कार कसुरमा मुद्दा दर्ता गराए पनि अदालतबाट फैसला हुन बाँकी नै छ। यसैले अभियुक्त्त यादवले पीडित बालिका उनको परिवार र साक्षीहरूलाई ज्यान मार्ने धम्की दिएर अदालतमा ‘होस्टाइल’ भएर मुद्दा रफदफा गराउन दबाब दिँदै आएका छन्।