ऊर्जा क्षेत्रमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

नेपालमा सबैभन्दा बढी ३० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी ऊर्जा क्षेत्रमा आउने गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । आर्थिक वर्ष ०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको सर्वेक्षणअनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले बढेर दुई खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ पुगेको जनाएको छ । जसमा ठुलो हिस्सा ऊर्जा क्षेत्रको देखिएको छ । ऊर्जा क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी ८८ अर्ब ६१ करोड १८ लाख रुपैयाँ पुगेको छ । आव ०७८/७९ मा ऊर्जा क्षेत्रमा ८६ अर्ब ८५ करोड २६ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । 

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

त्यसैगरी, २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको देखिन्छ । प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति–निर्माणमा सहयोग पुर्याउने उद्देश्यले अध्ययन गरेको केन्द्रीय बैंकले जनाएको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत छ । यसैगरी, ०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी छ ।

जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् एक खर्ब तीन अर्ब ४५ करोड (३५ प्रतिशत) र चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्यान्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अस्ट्रेलियाबाट १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिंगापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी आएको थियो ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत, गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा १ प्रतिशतभन्दा कम वैदेशिक लगानी आउने गरेको अध्ययनमा भेटिएको छ । 
 

सुझावित समाचार