अखिल क्रान्तिकारी खोटाङले गर्‍यो दिक्तेलबजारको सडक सरसफाइ

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङले दिक्तेलबजारको सडक सरसफाइ गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) खोटाङले १९औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा आज (शुक्रबार) दिक्तेल बुहुमुखी क्याम्पसदेखि हाटडाँडासम्मको सडकआसपासका स्थानीय बासिन्दाले जथाभावी फालेका फोहाेर सरसफाइ गरेको हो । 

सरसफाइ कार्यक्रममा जम्मा गरिएका फोहाेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको फोहाेर व्यवस्थापन केन्द्रमा लगेर विसर्जन गरिने आयोजक अखिल (क्रान्तिकारी) खोटाङका जिल्ला संयोजक डार्विन चाम्लिङले जानकारी दिए । दिक्तेल बहुमुखी क्याम्पस एकाइ समितिसँगको सहकार्यमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा ३० बोरा फोहाेर संकलन गरिएको आयोजकले जनाएको छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलाई सफा र सुन्दर बनाउन १९औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा सचेतनामूलक कार्यक्रमसहित सरसफाइ गरिएको क्याम्पस इकाइ समिति अध्यक्ष ललिजन राईले जानकारी दिए । 

सुझावित समाचार