वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने गरी अत्याधुनिक पुल निर्माण गरिने भएको छ । बिरामीलाई एउटा भवनबाट अर्को भवनमा लैजान असहज भएको भन्दै लिफ्टसहितको पुल निर्माण गर्न लागिएको हो ।
वीरमा उपचारका लागि गएका सबैजसो बिरामी प्रायः दुईवटा भवनमा ओहोरदोहोर गर्नुपर्छ । झन्डै ७० मिटर ओहोरदोहोर गर्नुपर्दा बिरामीले सास्ती खेप्नुपरेको छ । नयाँ भवनमा सर्जरी र पुरानो भवनमा टिकटदेखि क्यास काउन्टर, इमर्जेन्सी, ल्याब, ओपिडी, माइनर अपरेसनलगायत सेवा छन् । सोही कारण पनि बिरामीलाई दुईवटा भवनमा ओहोरदोहोर नगरी सुखै छैन । दुईवटा भवनमा ओहोरदोहोर गर्दा बिच भागमा सडक भएकाले बिरामीलाई सडक पार गर्नसमेत सास्ती हुने गरेको छ । अस्पताल प्रशासनका अनुसार नयाँ सर्जिकल भवन र पुरानो भवनको दूरी करिब ७० मिटर छ ।
काठमाडौं महानगरपालिकाले आर्थिक सहायता प्रदान गर्ने तत्परता देखाएपछि करिब पाँच करोड रुपैयाँ लागतमा पुलसहित लिफ्ट जडान गर्ने तयारी भएको हो । अस्पताल प्रशासनका अनुसार लिफ्ट तथा पुल निर्माणको सबै काम काठमाडौं महानगरपालिकाले गरेर अस्पताल प्रशासनलाई हस्तान्तरण गर्नेछ । तर, दुई निकायबिच सम्झौतामा हस्ताक्षर भने भएको छैन ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालका दुई भवनमा ओहोरदोहोर गर्न समस्या भएकाले पनि पुल र लिफ्ट आवश्यक पर्ने बताए । ‘एउटै अस्पतालका भवन सडक पारि र वारि हुँदा ओहोरदोहोरमा समस्या भइरहेको छ, त्यसैले पनि लिफ्ट र पुल आवश्यक छ,’ उनले भने, ‘अन्य देशका अस्पतालमा हेर्ने हो भने पनि बिरामीका लागि सहज हुने भौतिक पूर्वाधार हुन्छ । महानगर यो योजना अघि बढाउनेमा सकारात्मक छ ।’
यस्तो बन्नेछ दुई भवन जोड्ने पुल
पुल नयाँ भवनको दोस्रो तलाबाट पुरानो भवनको दोस्रो तलामा जोडिनेछ । हाल अस्पतालको नयाँ भवनमा सर्जरीका बिरामी राख्ने गरिन्छ । तर, टिकट काउन्टरदेखि अन्य सेवा लिन पुरानो भवनमा जानुपर्छ ।
सेन्सरसहितको आधुनिक पुल र लिफ्ट जडान गर्न स्थलगत अवलोकनका लागि महानगरको स्वास्थ्य विभाग र वडा नम्बर २७ को टोली गत बुधबार वीर अस्पताल परिसर पुगेको थियो । अन्डरग्राउन्ड निर्माण गर्न धेरै लागत लाग्ने भएपछि बाहिरबाट पुल र लिफ्ट राख्न महानगर सहमत भएको हो ।
काठमाडौं महानगरपालिका– २७ का वडाध्यक्ष योगेशकुमार खड्गीले पहिलो चरणमा अध्ययन भएको र पुल बनाउन सम्भव देखिएको बताए । ‘लिफ्टसहितको पुल बनाउन सहरी योजना आयोगसहितको टिमले अध्ययन गरेको छ, तर काम सुरु गर्नुअघि बिजुलीको तार भूमिगत गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले चाह्यो भने यो काम छिटो गर्न सक्छ, त्यसपछि महानगरले लिफ्ट र पुल बनाउने काम अघि बढाउनेछ ।’ प्राधिकरणले उक्त क्षेत्रको तार भूमिगत गर्नुपर्ने सम्बन्धमा पनि महानगरले समन्वय अघि बढाएको छ ।