ब्लड बैंक नहुँदा दाताकै भर

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

ब्लड बैंक नहुँदा सल्यान जिल्ला अस्पतालमा आउने बिरामीले आफन्त वा दाताका भरमा रगत जुटाउँदै आइरहेका छन्। जिल्लामा ब्लड बैंक नहुँदा विशेष गरी सुत्केरी हुन आउने महिला बढी समस्या झेल्न बाध्य छन्। रगत आवश्यक पर्दा बिरामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सर्वसाधारण र स्वास्थ्यकर्मीको भर पर्नुपर्ने बाध्यता छ । 

जिल्लामा ब्लड बैंक अत्यन्त आवश्यक रहेको १९औँ पटक रक्तदान गरिसकेका रक्तदाता हिमाल यात्रीले बताए । उनले भने, ‘उपचारका लागि अस्पताल पुग्यो, रगत चाहियो भने रगत हुँदैन । जिल्लामा यो समस्या समाधान कसरी गर्ने होला ?’
विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्दा बढी रगत खोजिन्छ । जिल्लामा रगतको आवश्यकता रहेको र जिल्लामै रगत संकलन गर्ने र खपत हुन नसकेको रगतलाई जिल्लाबाहिर पठाउने गरी  समन्वयात्मक ढंगबाट ब्लड बैंक सञ्चालन गर्न अनिवार्य रहेको उनको भनाइ छ ।

१५ शय्याको जिल्ला अस्पतालमा रगतका लागि दाताको भर पर्नुपर्ने एक मात्र विकल्प छ । आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरेर बिरामीलाई रगत दिन गुहार गर्नुपर्ने बाध्यता रहेको सल्यान जिल्ला अस्पतालले जनाएको छ । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले रेडक्रस, जिल्ला अस्पताल सल्यानको सहकार्यमा ब्लड बैंक सञ्चालन गर्ने तयारी भइरहेको बताए । ब्लड बैंक सञ्चालनका लागि ०७७ सालमा भवन निर्माण भइसकेको छ । तर, भवन निर्माण भएको वर्षौँ भइसक्दासमेत सञ्चालनमा आउन सकेको छैन । डा. बुढामगरले भने, ‘स्वास्थ्य कार्यालय तथा अस्पताललाई ब्लड बैंक सञ्चालन गर्ने अनुमति छैन, त्यही भएर रेडक्रसले सञ्चालन गर्ने तयारी गरेको छ ।’ 

सुत्केरी हुने र अन्य रोगका लागि रगत चाहिने बिरामी महिनामा आठदेखि १० जना आउने गरेका र ब्लड बैंक नभएकाले आपतकालीन रक्तसञ्चार केन्द्रमार्फत रगत संकलन गरेर शल्यक्रिया गर्ने गरिएको उनको भनाइ छ ।

सुझावित समाचार