नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा भोटेले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्नेले नै जनयुद्धलाई हिंसा भनेको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले ०७ साल, २८ साल र ५२ सालका सबै विद्रोह एकात्मक शासन प्रणालीविरुद्ध जनताले उठाएको आवाज भएको प्रस्ट्याए।
उनले भने, ‘२००७ सालको कुरा, २०२८ सालको झापा विद्रोहको कुरा, २०५२ सालको सशस्त्र जनयुद्ध, यी सबै एकात्मक शासन प्रणालीको विरुद्धमा लडेको मुक्ति युद्ध र जनताको आवाज हुन्। जनमुक्ति र वर्गमुक्ति संघर्षको विगुल फुक्ने साहस र हिम्मत गर्ने प्रचण्डलगायत सबै नेताहरूलाई उच्च सम्मान व्यक्त गर्दछु। तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैँ हिंसाका गतिविधिको नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो।’