निजगढमा तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा सुरु गर्ने

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

बाराको निजगढ नगरपालिकामा तिलगंगा आँखा अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय परियोजना सल्लाहकार समितिले अस्पताल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत पुगेको र अबको केही दिनमा पूरा गरी आगामी कात्तिक २८ गते उद्घाटन गर्ने तयारीमा रहेको जानकारी दिएको छ।

उद्घाटन भएलगत्तै अस्पतालले नयाँ भवनबाट सेवा सञ्चालन गर्ने बताइएको छ। निजगढ नगरपालिका– ९ स्थित अस्पताल रोडमा ०७५ बाट सुरु भएको आँखा अस्पताल निर्माणमा अस्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेसनले करिब १९ करोड लगानी गरेको छ।

मोफसलकै ठुलो आँखा अस्पतालका रूपमा निर्माण भइरहेको निजगढ तिलगंगा अस्पतालको लागत १७ करोड अनुमान गरिएकोमा बढेर १९ करोड पुगेको छ। पाँच वर्षभित्र सम्पन्न हुने गरी निर्माण सुरु भएको भवन निर्माण निर्धारित समयभन्दा दुई वर्षअघि नै पूरा हुन लागेको हो।

आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा आँखा अस्पतालले आँखा उपचारमा सर्वसाधारणको सहज पहुँच विस्तारका लागि निजगढलगायत देशका विभिन्न २० अस्पतालहरूमार्फत आँखा उपचार सेवा प्रदान गर्दै आएको छ। निजगढमा भवनको निर्माणकार्य सम्पन्न भएपछि अस्पतालले बहिरंग सेवा, विशेषज्ञ सेवा, विस्तारित सेवा र नियमित शल्यक्रिया सेवा सञ्चालन गर्ने बताइएको छ।

समितिका संयोजक निजगढ नगरपालिकाका मेयर सुरथ पुरीको अध्यक्षतामा स्थानीय परियोजना सल्लाहकार समितिको बिहीबार साँझ निजगढ नगरपालिका कार्यालयमा बसेको बैठकले आगामी पाँच वर्षका लागि नयाँ परियोजना प्रस्ताव गर्ने, स्थानीयलाई उपचारमा सहुलियत प्रदान गर्ने र अस्पताल सञ्चालनमा आएपछि प्रचारप्रसार गर्ने तथा दिगो व्यवस्थापन र सञ्चालन गर्ने गरी काम अगाडि बढाउन केन्द्रीय समितिलाई सुझाव दिने निर्णय पनि गरेको छ।

तिलगंगा आँखा अस्पतालले हाल निजगढ– ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रपरिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको छ। अस्पतालले समुदाय र विद्यालयस्तरमा आँखासम्बन्धी सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत आँखा उपचार सेवासमेत प्रदान गरिरहेको छ।

सुझावित समाचार