भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । ‘ग्लोबल टेन्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो । आयोजना निर्माणका लागि रु. तीन अर्ब ५० करोड आठ लाख १५ हजार २८० लागतमा उक्त कम्पनीसँग सम्झौता भएको हो ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर परियोजना कार्यान्वयन एकाइ सुर्खेत र झेजियाङ टिम इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकल को–अपरेसन निङ्बो चाइना कम्पनी लिमिटेडबिच आयोजना निर्माणका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एकाइका तर्फबाट प्रमुख सञ्जीवकुमार साह र कम्पनी लिमिटेडका तर्फबाट आधिकारिक प्रतिनिधि सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख मोहनमाया ढकालले संघीयता अभ्यासको पहिलो नमुना आयोजना भेरी पम्पिङ आयोजना भएको बताइन् । उनले विश्व बैंकले नेपालको खानेपानीमा लगानी गरेको मेलम्चीपछिको लिफ्टिङ प्रविधिको सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजना भएको जिकिर गरिन् ।
उनले भनिन्, ‘सबै क्षेत्र र पक्षलाई एकै ठाउँमा उभिएर यसको निर्माणकार्य सम्पन्न गर्न सहयोग पुर्याउन अपिल गर्छु । भेरी लिफ्टिङ आयोजनाको पहिलो खुड्किलो पार भएको र तीन तहका सरकारको स्वामित्वमा अगाडि बढेको यो परियोजनालाई सबैको सहयोगबाट निर्धारित समयमा सम्पन्न हुने विश्वास छ ।’
तीन वर्षसम्म पहिलो चरणको काम सक्ने गरी कामको जिम्मा पाएको चिनियाँ कम्पनीले सातवटा निर्माण कम्पनीलाई पछि पार्दै छनोट भएको एकाइ प्रमुख साहले बताए । सम्झौताअनुसार निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
आयोजना ६ पालिकामा लागू हुने भन्दै कार्यान्वयनको सुरुवात वीरेन्द्रनगर नगरपालिकाबाट हुने र यसले प्रतिसेकेन्ड पाँच सय ६० मिलिमिटर पानी आउने बताए । सुर्खेत उपत्यका खानेपानी आयोजनाका अध्यक्ष कुलमणि देवकोटाले धेरै लामो प्रतीक्षापछि आयोजनाको काम सुरु हुनुले नयाँ आशा पलाएको भन्दै अबको तीन वर्षभित्र नगरवासीले स्वच्छ पानी पिउन पाउने विश्वास व्यक्त गरे ।