भन्सार छली गरेर ल्याइन लागेको २१० बोरा चिनीसहित ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ । भैरहवा भन्सार कार्यालयले आज बिहान साढे २ बजे भैरहवा–लुम्बिनी सडकको बेथरी क्षेत्रबाट चिनीसहित लु.२ख २८३६ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकसँगै चालक शिवकुमार यादवलाई पनि नियन्त्रणमा लिइएको छ ।
चोरी–पैठारी गर्ने उद्देश्यले अवैध चिनी लोड गरी भैरहवातर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालयबाट खटिएको टोलीले चालकसहित ट्रक नियन्त्रणमा लिएको हो । सोधपुछका क्रममा मायादेवी गाउँपालिका– २, तुलसीपुरनिवासी चालक यादवले ट्रकमा चामल रहेको बताएका थिए । तर, चेकजाँच गर्दा चिनी फेला परेपछि नियन्त्रणमा लिइएको भैरहवा भन्सारका प्रमुख नारद गौतमले नयाँ पत्रिकालाई बताए । चिनी तुलसीपुरबाट पोखरा लैजान लागिएको प्रारम्भिक सोधपुछका क्रममा चालकले बताएका छन् ।
थप अनुसन्धानका लागि ट्रकचालकलाई थुनामा राखिएको छ । बरामद भएको चिनीको प्रतिकिलो ६४ रुपैयाँका दरले भ्याटबाहेक ६ लाख ३० हजार र गाडीको मूल्य १० लाख गरी कुल प्रतिवेदन मूल्य १६ लाख ३० हजार रुपैयाँ कायम गरी कार्यालयले भन्सार दाखिला गरेको छ ।
गत शनिबार पनि कार्यालयले भन्सार छलीको २१० बोरा चिनी नियन्त्रणमा लिएको थियो । कार्यालयले सक्रियता बढाउँदा चोरी तस्करी गर्नेहरू धमाधम पक्राउ पर्न थालेका छन् ।