हवाईजहाजमा इन्धन भर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे प्रशिक्षण दिन आयल निगमले पहिलोपटक तालिम आयोजना गरेको छ ।
आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले दुबईस्थित विमानस्थलमा सेवा दिइरहेको ‘एक्जियम एभिएसन’का अनुभवी प्रशिक्षक झिकाएर कर्मचारीलाई प्रशिक्षण दिन थालिएको जानकारी दिए । बुधबारदेखि सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ ।
काठमाडौंस्थित विमानस्थलबाट घरेलु तथा अन्तर्राष्ट्रिय उडान भर्ने विमानमा इन्धन भर्न खटिने कर्मचारी र प्राविधिकलाई पहिलो चरणको तालिममा सहभागी गराइएको निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका प्रमुख प्रदीप यादवले जानकारी दिए । ‘हवाईजहाजमा इन्धन भर्ने कुरा निकै संवेदनशील विषय हो । यसका लागि कर्मचारीलाई दक्षता हासिल गराउन दुबईबाट अनुभवी प्रशिक्षक झिकाएर तालिम दिन थालेका छौँ,’ उनले भने, ‘हामीलाई प्रशिक्षण दिइरहेको कम्पनीले दुबईको विभिन्न विमानस्थलमा पनि सेवा दिइरहेको छ ।’
तालिम कार्यक्रमको शुभारम्भ गर्दै निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले तालिम अवधिभर जहाजमा इन्धन भर्दा के–कस्ता सुरक्षाका मापदण्ड अपनाउने भन्नेबारे जानकारी दिइने हुँदा सबै कर्मचारीलाई लाभ लिन आग्रह गरे । ‘तालिमबाट प्राप्त ज्ञानलाई उपयोग गरी सुरक्षित हवाई उडानका लागि निगमको तर्फबाट हुनुपर्ने योगदान गर्न सबै कर्मचारी कटिबद्ध हुनुहोला,’ गोइतले भने ।
त्यस्तै, तालिम प्रदायक एक्जियम एभिएसनका प्रशिक्षक सञ्जय साहले सुरक्षित हवाई उडानका लागि ‘एभिएसन स्टाफ’ सबैभन्दा बढी जिम्मेवार हुने भएकाले सुरक्षाका सबै मापदण्डबारे जानकार हुनुपर्ने बताए । ‘हवाई इन्धन भर्दा सुरक्षा सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ । तालिम अवधिभर सुरक्षाबारे नै प्रशिक्षण कक्षा सञ्चालन हुनेछन्,’ उनले भने ।
आयल निगमको सिनामंगल डिपो प्रमुख यादवका अनुसार तालिम अवधिभर विमानस्थलमा खुला पहुँच प्रणाली, हवाई इन्धनको व्यवसाय र दायित्व, गुणस्तर नियन्त्रण, परीक्षण, मापदण्ड, सुरक्षा सामग्रीको प्रयोग, सुरक्षा व्यवस्थापन, अन्तर्राष्ट्रिय नियम र अभ्यास, डिपो सुरक्षा, जोखिम व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइने कार्यतालिका रहेको छ ।