स्वेच्छाका आधारमा नागरिकता दिन लैंगिक तथा यौनिक अल्पसंख्यकको माग

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले स्वेच्छाका आधारमा आफूहरूलाई नागरिकता प्रदान गर्न माग राखेका छन्। बुधबार सञ्चारकर्मीसँगको छलफलका क्रममा उनीहरूले ०७२ को संविधानले लैंगिक पहिचानका आधारमा नागरिकता दिने व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको बताए।

ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले संविधानको व्यवस्था र सोहीअनुसार अदालतले आदेश दिँदा पनि सरकारी निकायहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा तनाब दिने गरेको बताइन्। 

‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको नागरिकताको सवाल जटिल बन्दै गइरहेको छ, ट्रान्स म्यान र ट्रान्स वुमनलाई नागरिकता दिनको लागि डाक्टरकै सर्टिफिकेट माग गरिन्छ, शरीरका अंगहरू नै देखाउन भनिन्छ, यो के मानव अधिकार उल्लंघन होइन,’ उनले भनिन्, ‘नागरिकता नहुँदा बैंक अकाउन्टदेखि अन्य कागजातमा समस्या हुने गरेको छ, सयौँ लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति नागरिकताको अधिकारबाट वञ्चित हुनुहुन्छ, नागरिकता लिएकाहरूलाई पनि ‘अन्य’ भनेर दिने गरिएको छ, यो मान्य छैन।’ 

यसअघि ६ पुस ०६४ मा सर्वोच्च अदालतले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लक्षित गर्दै निर्देशनात्मक आदेशसमेत जारी गरेको थियो। जसमा लैंगिक पहिचानका आधारमा नागरिकता दिनुपर्ने, समलिंगी विवाहको लागि ७ जनाको समिति गठन गर्नुपर्ने र विभेदकारी कानुन खारेज गर्नुपर्ने आदेश थियो। तर, हालसम्म पनि त्यसको कार्यान्वयन हुन नसकेको गुरुङको भनाइ छ।

नेपालको संविधान ०७२ को धारा १२ मा पनि लैंगिक पहिचानका आधारमा नागरिकता दिने व्यवस्था छ। तर, नागरिकता विधेयकमा डाक्टरको हस्ताक्षरसहितको प्रमाण र लिंग परिवर्तन गरेको प्रमाण देखाउनुपर्ने व्यवस्था गरिएको छ। लिंग परिवर्तन गर्न तथा हर्मोन परिवर्तन गर्न खर्चिलो हुने भएकाले आफ्नो पहिचान आफैँ गर्न पाउनुपर्ने लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले माग राखेका हुन्।

हालसम्म सरकारले करिब २५० जना लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई नागरिकता दिएको छ।

सुझावित समाचार