नेकपा माओवादी केन्द्रले दुई प्रदेशमा परामर्श समितिको बैठक कार्यतालिका हेरफेर गरेको छ। सम्बन्धित प्रदेशका इन्चार्जहरूसँगको परामर्शअनुसार कोशी र मधेश प्रदेशको परामर्श समितिको बैठक तालिका परिवर्तन गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
जसअनुसार कोशी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २२ र २३ गते हुनेछ भने मधेश प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते हुनेछ। यसअघि भदौ २२ र २३ गते मधेश प्रदेश तथा भदौ २४ र २५ गते कोशीको बैठक तोकिएको थियो।
अन्य प्रदेशमा भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै बैठक गर्ने पार्टीले जनाएको छ।
माओवादी केन्द्रले बागमती, उपत्यका विशेष, सम्पर्क समन्वय र गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक गरिसकेको छ भने आज र भोलि सुदूरपश्चिम प्रदेशमा बैठक हुँदै छ। त्यसलगत्तै, भदौ १४ र १५ गते कर्णाली तथा १६ र १७ गते लुम्बिनी प्रदेशको बैठक गर्ने कार्यकतालिका छ।
यसैगरी, १८ र १९ गते केन्द्रीय आयोगका सदस्यहरूको बैठक राखिएको छ भने भदौ २७ र २८ गते जबस मोर्चा र विभागमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक बस्दै छ। भदौ ३१ र असोज १ गते प्रवासमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक राखिएको छ भने असोज २ र ३ गते जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूसँगको परामर्श बैठक राखिएको केन्द्रीय कार्यालयले जनाएको छ।
प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमका रूपमा जनतामा जाने माओवादीको तयारी छ।