घरेलु टिम नेपाललाई ४–१ गोल अन्तरले हराउँदै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गरे। अर्को गोल मोहम्मद रब्बी हुसेन राहुल र पियास अहमद नोभाले गरे। नेपालका समीर तामाङले एक गोल फर्काए।
जितसँगै बंगलादेशले समूह ‘ए’ मा हारेको २–१ को बदला लिएको छ। उपाधिमा ह्याट्रिक गर्ने योजना बनाएको नेपाल मिडफिल्डर नचल्दा कमजोर देखियो।
पहिलो हाफको इन्जुरी समयमा इस्लामले फ्री किकमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। उनले बक्सबाहिर आएको फ्री किकलाई सोझै गोलमा परिणत गरे।
बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो। ५५औँ मिनेटमा इस्लामले नै गोल गर्दै अग्रता २–० को अग्रता बनाए। ७१औँ मिनेटमा राहुलले गोल गरेपछि घरेलु टिम ३–० ले पछि पर्याे।
८०औँ मिनेटमा नेपालले एक गोल फर्कायो। समीर तामाङले गोल गरे। तर, १० मिनेटको इन्जुरी समयमा नोभाले गोल गर्दा बंगलादेशले सहज जित निकाल्यो।
भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल र बंगलादेशसँगै ६ टोलीको सहभागिता थियो। यसअघि भारतले तीन र नेपालले दुईपटक उपाधि जितेका छन्।
