राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नारा लगाएकै आधारमा युवाहरूलाई पक्राउ नगर्न सरकारलाई सचेत गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले यस्तो रवैयाले सरकार धेरै दिन नटिक्ने चेतावनी दिए।
स्वदेशमा अवसर र रोजगारी नपाएका युवाको विरोधकाे स्वर सुन्ने धैर्यता राज्यसँग हुनुपर्ने भन्दै उनले पक्राउ परेका युवाको रिहाइको माग गरे । साथै विभिन्न जिल्लामा स्ट्याटस लेखेकै भरमा पक्राउ परेका भन्दै ढकालले यस्तो रवैया नदेखाउन चेतावनी दिए।
‘गौरापर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरूले विरोध भाषण गरे भन्छु म । यसलाई अराजक शैली वा अनेक अनेक बहाना लगाएर सरकारले भिडियो फुटेजहरू स्क्रिनिङ गरी–गरी हिजोबाट ती युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ, यो बिलकुल गलत भएको छ । विरोधका बोलीहरू, त्यो पनि युवाले राखेको राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ । स्वदेशमा अवसरबाट वञ्चित, रोजगारीबाट वञ्चित बनाइएका ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दै गर्दा यसरी समाउन पाइँदैन। ती युवाको तत्काल रिहाइको म माग गर्छु,’ ढकालले भने, ‘साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरूलाई समातिएको समाचार पनि आएको छ । कमिलाको उड्ने वेलामा प्वाँख पलाएजस्तो नहोस्, हामी पनि यो विषयमा संवेदनशील छौँ । तर, सरकारले यस्तै रवैया देखायो भने कमिलाको प्वाँख पलाएजस्तै हुन्छ।’