साफ यू–२० च्याम्पियनसिप : नेपालको लक्ष्य ह्याट्रिक उपाधि

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण
साफ यू–२० च्याम्पियनसिप : नेपालको लक्ष्य ह्याट्रिक उपाधि

ट्रफीका साथ बंगलादेश र नेपालका प्रशिक्षक र कप्तान । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल र बंगलादेशले साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि बुधबार खेल्दै छन् । प्रतियोगिताको फाइनल एन्फा कम्प्लेक्स मैदानमा दिउँसो २:३० बजे हुनेछ । दशरथ रंगशालामा प्रतिस्पर्धा गर्न नमिल्ने भएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोको एन्फा कम्प्लेम्समा फाइनल खेल राखेको हो । नेपाल तेस्रोपटक र बंगलादेश पहिलोपटक च्याम्पियन हुने योजनाका साथ मैदानमा उत्रनेछ । फाइनलअघि मंगलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने दाबी गरेका छन् । 

नेपाल र बंगलादेशले सेमिफाइनलमा टाइब्रेकरमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम दुई स्थान पक्का गरेका हुन् । नेपालले भुटानलाई ४–१ ले हराएको थियो । बंगलादेशले साबिक दुईपटकको विजेता भारतमाथि ४–३ को स्तब्ध नतिजा निकालेको थियो । उपाधि भिडन्तमा उभिएका दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले बताएका छन् । ‘नेपाल र बंगलादेशले राम्रो खेलिरहेका छन्, दुवै उपाधिका दाबेदार टोली हुन्,’ श्रेष्ठले भने, ‘फाइनल पुगेका दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेल्ने विश्वास छ ।’ 

घरेलु टोलीका खेलाडी फाइनल खेल्न तयार भएको प्रशिक्षक श्रेष्ठले जनाए । प्रतिस्पर्धामा उत्कृष्ट खेल्ने टोली नै अन्तिममा च्याम्पियन हुने उनको भनाइ छ । ‘हामी बंगलादेशविरुद्ध फाइनल खेल्न तयार छौँ । जसले आज उत्कृष्ट खेल खेल्छ । उपाधि उसैले उचाल्नेछ,’ श्रेष्ठले भने, ‘हामीहरूको प्रयास नै बंगलादेशविरुद्ध थप उत्कृष्ट खेल्ने हो ।’ बंगलादेश तुलनात्मक रूपमा बलियो बनेको श्रेष्ठले विश्लेषण गरेका छन् । ‘बंगलादेश कठिन टोली हो । प्रत्येक खेलमा सुधार गरिरहेको छ । भारतजस्तो प्रतिद्वन्द्वीलाई समेत सेमिफाइनलमा हरायो,’ उनले भने, ‘यस कारण पनि फाइनल प्रतिस्पर्धात्मक हुने विश्वास छ ।’ 

अपराजित नेपाल
नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका समीर तामाङ, सिमान्त थापालगायतका खेलाडी छन् । नेपालले फाइनल यात्राको क्रममा अपराजित राखेको छ । बंगलादेशले एक मात्र खेल नेपालसँगै समूह चरणमा गुमाएको थियो । बंगलादेशका प्रशिक्षक मरुफुल हकले अन्तिम दुईसम्म यात्रामा उताचढाव सामना गरेको बताए । यद्यपि, आफ्नो टोली नेपालविरुद्ध खेल्न तयार रहेको मरुफुलले बताए । ‘योपटक फाइनल पुग्न हामीले धेरै उतारचढाव सामना ग¥यौँ,’ मरुफुलले भने, ‘नेपाल घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी हो ।’ 

एन्फा मैदानमा नेपालका युवा खेलाडी खेल्न अभ्यस्त भएकाले पनि बंगलादेशलाई खेल्न गाह्रो हुन सक्ने उनको भनाइ छ । ‘यस मैदानमा नेपालका धेरै खेलाडीले खेलेका छन् । मैदानको अनुभव उनीहरूसँग छ,’ उनले भने, ‘तर हामी फाइनलका लागि तयार छौंँ ।’ बंगलादेशले फाइनलमा नियमित कप्तान तथा गोलरक्षक साब्रोनविना नै खेल्नेछ । उनको स्थानमा आसिफले कप्तानी गर्नेछन् ।

नेपाल र बंगलादेशबिच उमेर समूहमा पहिलोपटक उपाधि भिडन्तमा आमनेसामने हुन लागेका हुन् । प्रतियोगिताको समूह ‘ए’मा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । नेपालले समूह विजेताका रूपमा अन्तिम चारको स्थान पक्का गरेको थियो । 

सुझावित समाचार