परराष्ट्रमन्त्री डा. राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबिच भेटवार्ता

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबिच द्विपक्षीय वार्ता भएको छ। मन्त्री डा. राणाको निमन्त्रणामा सोमबार नेपाल आएका अल बुसाइदीबिच मंगलबार भएको भेटवार्तामा द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको छ।

वार्तामा हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको बताइएको छ। छलफलमा मन्त्री डा. राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरू र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी थिए।     

वार्तामा परराष्ट्र मन्त्री डा. राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी थिइन्। पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उनले आग्रह गरिन्। यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताएका छन्।

त्यसैगरी, नेपालले नेपाली श्रमिकहरूको हक, हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो। नेपाल पक्षले ओमानको श्रम कानुन र अरू वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको बताइएको छ। ओमान पक्षले पनि नेपाली श्रमिकहरू काममा लगनशील र इमानदार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने विषय बताएको थियो। यस विषयमा दुई देशबिचमा श्रम सम्झौता गरिने सहमति वार्तामा भएको छ। 

छलफलका क्रममा मन्त्री डा. राणाले नेपालमा जलविद्युतलगायतका कयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्रीमार्फत ओमानलाई आग्रह गरिन्।

सुझावित समाचार