भगवती रथजात्राकाे अवलोकन गर्न राष्ट्रपति पौडेल तानसेनमा

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।

जात्रामा सहभागी हुन रक्षामन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा आएका छन्। तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथयात्रा हुने गरेको छ । नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजयोत्सवस्वरूप रणउजिरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ ।

विजयोत्सव एवं भगवती रथजात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार भगवतीको रथ निकालिने दिन आज नै अमननारायणको समेत रथ निकालिने भएको छ । यस वर्ष भगवती र अमननारायणको रथ निकाल्ने तिथि एकैदिन परेको छ ।

भगवतीको रथ निकाल्नुअघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रमापछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको छ । भगवतीको रथयात्रा निकाल्नुअघि राष्ट्रपति पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको प्रजिअ काफ्लेले जानकारी दिए।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राका रूपमा परिचित छ । कर्णेल उजिरसिंह थापाले १८७६ सालमा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राका रूपमा सञ्चालन गरिँदै आएको छ ।     
   
   
 

सुझावित समाचार