बंगलादेशले साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा घरेलु टोली नेपालको सामना गर्ने भएको छ । नेपाल र बंगलादेशबिच बुधबार एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २:३० बजे खेल हुनेछ । प्रतियोगिताको सोमबार दोस्रो सेमिफाइनलमा बंगलादेशले साबिक दुईपटकको विजेता भारतलाई टाइब्रेकरमा ४–३ ले स्तब्ध पार्दै अन्तिम दुईको स्थान पक्का गरेको हो । एन्फा मैदानको भएको खेलको निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेल खेलेका थिए ।
फाइनल पुग्ने दोस्रो टोलीको छिनोफनो टाइब्रेकरबाट भएको हो । लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्य राखेको भारत बंगलादेशसँग पराजित भयो । प्रतियोगिताको दुवै सेमिफाइनल खेलको छिनोफानो टाइब्रेकरबाटै भयो । यसअघि आइतबार नेपालले भुटानलाई पनि टाइब्रेकरमै हराएको थियो । बंगलादेशका गोलरक्षक मोहमद अफिसले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी वैकल्पिक गोलरक्षकका रूपमा मैदानभित्र प्रवेश गरेका थिए । असिफले भारतका दुई पेनाल्टी प्रयासलाई विफल पारे ।
भारतका लागि परविन, गोयरे, मनजोत सिंह परमरले गोल गरेका थिए । केल्भिन सिंह र आकाश टिर्केको प्रहारलाई बंगलादेशी गोलरक्षक आसिफले बचाएका थिए । पेनाल्टीमा गोलरक्षक असिफले भारतको पहिलो र पाँचौँ प्रहार विफल बनाउँदै बंगलादेशको फाइनल यात्रा पक्का गरेका हुन् । बंगलादेशबाट चारै खेलाडी पियास नोभा, मोइनुल इस्लाम, साकिल अहाद टोपु र अस्रफुल हाकी आसिफले पेनाल्टीमा गोल गरे ।
बंगलादेशले अग्रता जोगाउन सकेन
वर्षाले प्रभावित पारेको प्रतिस्पर्धामा बंगलादेशले सुरुवातमा अग्रता लिएको थियो । खेलको ३५औँ मिनेटमा बंगलादेशले उपाधि दाबेदार भारतविरुद्ध १–० को अग्रता लियो । असादुल मोल्लाले डिबक्सभित्र भारतको डिफेन्स लाइन तोड्दै सहजै अग्रता गोल गरे । बंगलादेशले यसै अग्रता अन्तिमसम्म रक्षा गर्न नसक्दा टाइब्रेकरसम्मको नतिजा प्रतीक्षा गर्नुपरेको हो । पहिलो हाफमा भारतले बराबरी गोल फर्काउने धेरै प्रयास जारी राखेको थियो । तर, बंगलादेशको जबर्जस्त डिफेन्स लाइनअप भारतले मध्यान्तरअगाडि भत्काउन सकेन । बंगलादेश पहिलो हाफमा १–० ले अघि रह्यो ।
दोस्रो हाफमा भारतले खेलमा सुधार गर्यो । काउन्टर तथा आक्रामक रणनीति अपनाएको भारतले खेलको ७५औँ मिनेटमा १–१ को बराबरी गोल फर्कायो । भारतलाई गोयारीले बराबरी गोल फर्काएका हुन् । त्यसपछि दुवै टिमबाट थप गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो । पेनाल्टी सुटआउटमा दुई खेलाडी असफल भएसँगै भारतउपाधि रक्षा गर्नबाट चुकेको हो ।
७३औँ मिनेटमा गोलरक्षक परिवर्तन
प्रतिस्पर्धामा भारतको निरन्तर आक्रमणलाई विफल गरिरहेका बंगलादेशका कप्तान तथा गोलरक्षक मेहदी हसन विपक्षी स्ट्राइकरसँगसँग ठोक्किँदै घाइते भए । उनले खेलमा निरन्तरता दिन नसक्दा ७३औँ मिनेटमा मैदान छाड्न बाध्य भए । उनलाई आसिफले प्रतिस्थापन गरेका हुन् । आसिफले टाइब्रेकरसम्म उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधिको दौडमा उभ्याउन सफल भए । यसअघि खेलको १७औँ मिनेटमा कोरौसिंह थिङगुजामले शक्तिशाली प्रहारलाई बंगलादेशका मेहदी हसनले सहजै बचाए ।
खेलको ३६औँ मिनेटमा भारतका केल्भिनसिंह टाओरेमको प्रहारलाई उनले विफल पारे । पहिलो हाफ सकिन आठ मिनेटअघि लेफ्ट साइडबाट विंगर राबी होसेन राहुलले दोस्रो बारमा गरेको प्रहार भारतका गोलरक्षक प्रियान्सी दुबेले पंच गरेको बल राम्रोसँग क्लियर हुन नसक्दा मोल्लाले उठाउँदै अग्रता गोल गरे ।
फाइनल खेल दशरथ रंगशालामा नभएर एन्फा कम्प्लेक्समा
आयोजक एन्फाले दशरथ रंगशालामा यू–२० च्याम्पियनसिपको उपाधि भिडन्त हुने भनिएको थियो । तर, निरन्तर वर्षाका कारण रंगशालाको मैदान खेलाउनयोग्य नहुँदा एन्फाले फाइनल खेल एन्फा कम्प्लेम्समा गर्ने जनाएको छ । म्यान कमिसन र रेफ्री असेसरले रंगशालामा खेलाउन नमिल्ने जनाएका छन् । एन्फाले निर्धातिर समय भन्दा आधा घन्टाअगाडि नै फाइनल हुने जनाएको छ ।