काठमाडौं प्रहरी परिसरको काम अब भद्रकालीस्थित अत्याधुनिक भवनबाट

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबारदेखि भद्रकालीस्थित अत्याधुनिक भवनबाट औपचारिक रूपमा काम थालेको छ । अत्याधुनिक लिफ्टसहितको सुविधा राखिएको भवनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेलगत्तै प्रहरीले औपचारिक रूपमा काम सुरु गरेको हो ।

रामशाह पथस्थित कृषि विकास बैंकको ठिक पछाडिस्थित १५ रोपनी जग्गामा परिसरको अत्याधुनिक भवन तयार भएको छ । एक अर्व २६ करोड ७४ लाख ९६ हजार ९९ रूपैयाँ लागतमा बनेको भवन बेसमेन्टसहित १० तलाको छ । कुल क्षेत्रफलमध्ये भवनको ‘स्ट्रक्चर’ मात्रै नौ रोपनी क्षेत्रफलमा फैलिएको छ । सरकारले ०७६ मा एक अर्व २० करोड रूपैयाँमा भवनका लागि आवश्यक जग्गा खरिद गरेको थियो । 

प्रधानमन्त्री ओलीले नवनिर्मित भवनबाट नागरिकलाई सेवा दिने कार्य सहज र सदृढ हुने बताए । ‘काठमाडौं प्रहरीको अत्याधुनिक भवन बनेको छ । यो सुविधा सम्पन्न छ । यहाँबाट नागरिकले सहज रूपमा सेवा पाउनेछन् । भवनबाट सम्पादन हुने कार्यले प्रहरीमा परोपकारी भवना पैदा गराउनेछ,’ उनले भने ।

नवनिर्मित भवनको मुख्य भागमा परिसरका कार्यरत एसएसपीदेखि प्रहरी निरीक्षकसम्मको छुट्टाछुट्टै कक्ष राखिएका छन् । पिलरअनुसार विभाजन गरिएका कार्यकक्ष दर्ता हुने मुद्दा र सेवाग्राहीको चापका दृष्टिले निर्माण गरिएका छन् । भवनभित्र प्रहरीका लागि प्रहरीको ब्यारेक निर्माण गरिएको छ । ब्यारेकको क्षमता चार सयको छ ।

कार्यालयको एकातर्फ भित्र सुविधा सम्पन्न हिरासत कक्ष निर्माण गरिएका छन् । भुइँ तलामा रहेको हिरासत कक्षको क्षमता तीन सय २० को रहेको छ । कार्यालयको अर्कोतर्फको दुई तलामा प्रहरीका लागि व्यायाम कक्ष छ । दायाँतर्फको अर्को दुई तला भने सर्वसाधारणको उजुरी लिने कक्षका लागि रहनेछ । 

अन्डरग्राउण्डमा अत्याधुनिक पार्किङस्थल निर्माण गरिएको छ । जहाँ ५७ चार पांग्रे गाडी र दुई सय २० मोटरसाइकल एकैपटक अटाउन सक्नेछन् । भवन मुख्य भागको आठ तलसम्मै पुग्ने अत्याधुनिक दुईवटा लिफ्ट रहनेछ । भवनभित्र एकैपटक दुई सयजना अटाउने अत्याधुनिक कन्फ्रेन्स हल छन् । एक सयजना अटाउने अर्को बैठक कक्ष पनि भवनभित्रै रहनेछ । प्रहरीका लागि सुविधा सम्पन्न मेस, टेलरिङ कक्ष, नास्ता कक्ष तथा मनोरन्जन कक्ष पनि भवनभित्र निर्माण गरिएका छन् । 

भवनको प्रत्येक कक्षमा प्रकाशको पहुँच पुगेको छ । जसमा वास्तु विज्ञानलाई पनि उत्तिकै ध्यान दिइएको छ । विशेष गरी कार्यालयका प्रमुख, उपप्रमुख तथा विशेष जिम्मेवारीमा रहने अधिकृतको कार्यकक्ष निर्माणमा वास्तु विज्ञानलाई ध्यान दिइएको छ । 

भवनभित्र प्रविधि प्रयोगलाई पनि उत्तिकै ध्यान दिइएको छ । भवनको सम्पूर्ण भाग सिसिटिभीको निगरानीमा रहनेछन् । अभियुक्तसँग बयान लिन अन्तर्राष्ट्रियस्तरको ‘इट्रोगेसन रुम’ बनाएको छ । अभियुक्तको म्याद थप हिरासत कक्षबाटै हुने गरी प्रविधि जडान गरिनेछ । भिडियो कन्फ्रेन्स गर्न सकिने गरी अत्याधुनिक हलको पनि डिजाइन गरिएको छ । 

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले मुलुकमा प्रचलित कानून कार्यान्वयन एवं नागरिकले प्राप्त गर्ने प्रहरी सेवामा नवनिर्मित भवनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘नेपाल प्रहरीले सीमित स्रोतसाधनका बाबजुद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको छ । नवनिर्मित भवनबाट जनताले पाउने सुविधा अझै बढोत्तरी हुनेछ । जनताका काम सहज रूपमा सम्पन्न हुने छ,’ उनले भने ।

सुझावित समाचार