हेटौँडाको एक होटेलमा युवतीको शंकास्पद मृत्यु

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित एक होटेलमा युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छिन्। मृत भेटिएकी युवती हेटौँडा–११, थानाभञ्ज्याङ घर भएकी एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार न्यौपानेको शव हेटौँडा–१०, भुटनदेवी मन्दिररोडस्थित रत्न होटेलको कोठा नम्बर २०५ मा फेला परेको हो। प्रवक्ता भण्डारीले शवको प्रकृति र कोठाको अवस्था हेर्दा युवतीको मृत्यु शंकास्पद रहेको बताए।

उनका अनुसार सोमबार बिहान अबेरसम्म पनि ढोका नखुलेपछि होटेल सञ्चालकले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक न्यौपानेको आँखामा चोट लागेको र कोठा रक्ताम्य पाइएको थियो।

प्रहरीका अनुसार न्यौपाने आइतबार अपराह्न ५ बजेतिर एक युवकसँग होटेलमा आएका र ती युवक राति करिब ९ बजे होटेलबाट बाहिरिएको सिसिटिभी फुटेजमा देखिएको छ। होटेलमा सँगै आएका युवकले नै न्यौपानेको हत्या गरेर कोठाको ढोकाभित्रबाट बन्द गरी झ्यालबाट बाहिर निस्केको प्रहरीको अनुमान छ।

उनीहरूले होटेलमा टिपाएको मोबाइल नम्बर गलत रहेको पाइएको छ। मृतक न्यौपानेको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार