उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान संविधानले व्यवस्था गरेको समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था मंगलादेवीको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि रहेको बताएका छन्।
बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा काठमाडौं महानगरपालिका– ६ वसन्तनगरमा निर्मित मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको उद्घाटन गर्दै मन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी भएको उल्लेख गरे।
उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले संविधानले हरेक क्षेत्रमा समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ। नीतिगत तहमा महिलाको हक र प्रतिनिधित्व सुनिश्चित भएको छ। महिलासँग जोडिएका आन्दोलन मंगलादेवीको नेतृत्वमा भएका हुन्।’
नेवारी मौलिक पहिचान झल्काउने फाल्चासहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्धनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले बताए। पार्कको सञ्चालन र संरक्षण काठमाडौं– ११ ले गर्ने वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए।