प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले संघीय सांसदहरूको जिम्मेवारी तोक्नुपर्ने बताएकी छिन्।
संघीय संसद् सचिवालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उपसभामुख रानाले पदाधिकारीलाई असीमित काम तोकिएको र सांसदहरूलाई जिम्मेवारी नै नतोकिएको बताइन्।
‘वास्तवमा माननीयज्यूहरू हरेक विषयमा पोख्त हुनुपर्छ। यसका लागि लाइब्रेरी, अनुसन्धानकर्ता दिनुपर्छ। संसद्लाई प्रभावकारी बनाउन यो जरुरी छ,’ उनले भनिन्। मुख्यतः गुणस्तरीय र समसामयिक कानुन बनाउने जिम्मेवारी भएको उनको भनाइ थियो।
विभिन्न देशहरूमा विषयगत विधा छुट्याएर सांसदलाई जिम्मेवारी दिने र त्यसको आधारमा सुझाव लिएर कानुन बनाउने अभ्यास रहेको उनले सुनाइन्।
‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा सांसदहरूलाई विधागत रूपमा वातावरण, जेल, जलस्रोतलगायत विषयको जिम्मा दिने रहेछ। त्यसमा अध्ययन अनुसन्धान गरेर सांसदले जन धारणा संसद्लाई दिँदो रहेछ। तर, हाम्रोमा यो छैन। यसलाई व्यवस्थित गरेर जाँदा संसद् प्रभावकारी बन्छ,’ उनले भनिन्।
उपसभामुख रानाले संसद्को पुस्तकालयलाई व्यवस्थित गर्न सांसदहरूले अर्थ मन्त्रालयमा गएर बजेटका लागि झकझक्याउन सुझाव दिइन्। ‘पुस्तकालयमा पढ्न को–को जानुहुँदो रहेछ भनेर हेर्दा एकजना माननीय माधव सापकोटा रेगुलर जानुहुँदो रहेछ। हामीले पढ्नुपर्छ। पुरानो इतिहासहरू जान्नुपर्छ,’ उनले भनिन्।
केही समयअघि पाल्पाको दमकडा विद्यालयमा जाँदा ठुलो र पछिल्ला पुस्तकहरूसमेत राखेको व्यवस्थित पुस्तकालय देखेको भन्दै रानाले संसद्को अझै ठुलो पुस्तकालय हुनुपर्नेमा त्यो नभएको गुनासो गरिन्।
सांसदले देश र जनताको कुरा बोल्नको लागि संसदमा अनुसन्धानकर्ताको संख्या पनि बढाउनुपर्ने र अरूको नक्कल गर्नेभन्दा आफ्नो मौलिकतामा बोल्नुपर्ने उनको भनाइ थियो।
कानुन निर्माणका अलावा सांसदहरूसँग जनताबाट विकास निर्माणको पनि अपेक्षा हुने भन्दै उपसभामुख रानाले प्रत्यक्ष र समानुपातिक सांसद मिलेर निर्वाचन क्षेत्र विकास कोषलाई कार्यान्वयन गर्न पहल गर्नुपर्ने बताइन्।