बागलुङको दक्षिणी भेगका नागरिकले विगत चार वर्षदेखि बर्खायाममा सदरमुकाम आउन सास्ती खेप्दै आएका छन्। दक्षिणी भेग हुँदै जाने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ बलेवा—कुश्मिसेरा सडकखण्डअन्तर्गत दब्ल्याङको पहिरोका कारण वर्षायाममा सडक बन्द हुँदा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नुपरेको हो।
बागलुङ नगरपालिका– १० भकुण्डे दब्ल्याङमाथिबाट आएको पहिरोले हरेक वर्ष करिडोरसँगै अर्को सडक पनि अवरुद्ध बनाउँदै आएको छ । पहिरोले तीन स्थानको सडकको ट्रयाक बगाएपछि हिउँदमा जसोतसो चल्ने सवारीसाधन बर्खामा चल्न सक्दैनन् । २०७७ सालमा दब्ल्याङ–दह, भकुण्डे सडकखण्डको ट्याक खोलिएसँगै सुरु भएको पहिरो हरेक वर्ष वर्षायाममा निरन्तर जाँदा दक्षिण भेग सडक सञ्जालबाट पटक–पटक टुट्दै आएको छ ।
पहिरोले सडक बगाउँदा हरेक वर्ष मर्मत गरेर हिउँदको समयमा सञ्चालन भए पनि वर्षामा भने सधैँ समस्या झेल्दै आउनुपरेको बागलुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल बताउँछन्। चार वर्ष पहिले झन्डै ५० मिटर पक्की सडक बगाएर सुरु भएको पहिरो अहिले गहिराएर पाँच सय मिटरभन्दा बढी भएको छ । हरेक वर्ष नगरपालिका र प्रदेश सरकारको सहयोगमा मर्मत भए पनि बर्खायाममा भने बगाएर कालीगण्डकी नदिमा मिसिने समस्या निरन्तर रहेको छ । पहिरोकै कारण दक्षिण बागलुङका जनता पर्वतको कुश्मा हुँदै सदरमुकाम आउनुपर्ने बाध्यता रहेको तथा यहाँ उत्पादन भएका तरकारी, दुधलगायतका अन्य घरायासी सामग्रीको ढुवानीमा समस्या भएको पौडेलले बताए।
२५ करोड लागतमा पक्की पुल बनाउने तयारी
हरेक वर्ष पहिरोले समस्या ल्याएर बारम्बार सडक अवरुद्ध हुन थालेपछि विकल्पका रूपमा कालीगण्डकी नदीमा पक्की पुल निर्माण गर्न सर्वेक्षण थालिएको छ । पहिरोले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ बलेवा हुँदै कुश्मिसेरा जाने सडक बर्खामा बन्द हुँदा दक्षिणको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका जनतालाई सास्ती भएपछि पक्की पुल निर्माणको योजना अघि बढाइएको हो ।
मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि बजेटको व्यवस्था गरेको छ । गत वर्ष गण्डकी प्रदेश सरकारकै पहलमा पहिरोको दीर्घकालीन समाधानका लागि अध्यययन भएको थियो । अध्ययनको क्रममा झन्डै १८ करोड रुपैयाँ लाग्ने डिपिआर तयार भए पनि त्यो काम अगाडि बढ्न सकेन । यस वर्ष पनि प्रदेश सरकारकै बजेटमा बागलुङ नगरपालिकाले समन्वय गरी ६० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको थियो । जसमा ४३ लाख रुपैयाँको काम भए पनि सोही स्थानको केही भाग भने बगाएको छ ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार उक्त रकमबाट माथिल्लो भागमा पानी काटेर न्यारे खोलामा ल्याउने काम र बागलुङ–कुश्मिसेरा सडकखण्डमा तारजाली लाउने नालि काट्ने र केही ठाउँमा मेसिनरी वाल लगाउने काम भएको छ । अध्ययनका क्रममा पहिरो क्षेत्रमा चट्टान भेटिन अझै केही गहिराइ रहेको हुँदा दीर्घकालीन उपायका लागि ठुलो रकम लाग्ने अनुमान छ। जसअनुसार रकम व्यवस्थापन नहुँदा विकल्पको रूपमा पक्की पुल निर्माणको योजना बनाइएको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए।
सुवेदीकै पहलमा यस आर्थिक वर्षमा पुल निर्माणका निम्ति पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ भने यसको कुल लागत २५ करोड लाग्ने अनुमान गरिएको छ । पक्की पुल निर्माणका निम्ति बहुवर्षीय योजनाको रूपमा बजेट विनियोजन भएपश्चात् पूर्वाधार विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. महेन्द्र बानियाँ, प्रशासन प्रमुख भरत भुसाल, स्थानीय सडक तथा पुल कार्यक्रमका ‘टिम लिडर’ इन्जिनियर अस्मित पोख्रेललगायतले पुल निर्माण गर्ने स्थानको अध्ययन गरेका छन।
मध्यपहाडी लोकमार्गदेखि कालीगण्डकी करिडोरमा पुल
पूर्वाधार विकास निर्देशनालयले बागलुङ नगरपालिका– १३ कालाखोला आसपासको क्षेत्रबाट पर्वतको कुश्मा नगरपालिका– १ को सहस्रधारा र २ को नयाँपुल क्षेत्रमा अध्ययन गरेको थियो। अध्ययनपश्चात् कालाखोलादेखि नयाँ पुल क्षेत्रमा सम्भावना देखिएको र यसको विस्तृत अध्ययन पूरा भएपछि ठेक्का प्रक्रिया अगाडि बढ्ने प्रदेश सभा सदस्य सुवेदीले जानकारी दिए। यहाँ पुल बनेपछि कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग सीधै जोडिनेछन्।
पक्की पुल निर्माणपछि कालीगण्डकी करिडोरआसपासका क्षेत्रका स्थानीयलाई सहज हुनेछ । यद्यपि, बलेवा क्षेत्रको माथिल्लो भाग रायडाँडा भकुन्डेका जनताको सास्ती भने कम हुनेछैन । किनकि उक्त स्थानमा निर्माण हुने पुल माथिल्लो भेगका नागरिकलाई अपायक पर्ने स्थानीयवासी बताउँछन्। नयाँ पुलबाट पक्की पुल निर्माण भए तापनि माथिल्लो क्षेत्रका जनतालाई यो अपायक पर्ने हुँदा पहिरोको व्यवस्थापनका निम्ति भने प्रदेश सरकारले यस वर्ष पनि बजेट व्यवस्थापन गरेको सांसद सुवेदी बताउँछन्। ‘बलेवा क्षेत्रको माथिल्लो भेग, भकुन्डे र रायडाँडाका नागरिक सदरमुकाम आउने सडक त पहिरो हुँदै हो, यसको पनि दीर्घकालीन समाधानको उपाय खोज्नेछौँ । यस वर्ष ८० लाख रुपैयाँ मर्मतका लागि विनियोजना भएको छ, त्यो हिउँदको समयमा काम गरेर पहिराको व्यवस्थापनमा जोड दिनेछौँ,’ उनले भने।
पहिरो क्षेत्रमा कमजोर माटो, संरचना बनाउन जोखिम
पहिरो गएकै ठाउँबाट सडक सञ्चालनमा ल्याउनका लागि भूगर्भविद्को समूहले नौ दिन लगाएर गत वर्ष एक अध्ययन गरेको थियो । एक्सरेबाट दब्ल्याङ क्षेत्रमा १५ देखि ३० मिटरभित्र मात्रै कडा चट्यान देखिएको र बाहिरको कमजोर माटोमा संरचना बनाउन जोखिम रहने बताएपछि अन्तिम विकल्पका रूपमा पक्की पुल नै प्राथमिकतामा रहेको प्रदेश सभा सदस्य कृष्ण पाठकले बताए।
माटोको सामान्य अध्ययन नगरी सडक निर्माण गर्दा राज्यको ठूलो रकम नोक्सानी तथा जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पक्की पुल बनाउन थालिएको हो। पटकपटक अवरुद्ध सडक खुलाउन मात्रै बागलुङ नगरपालिकाले लाखौँ रकम खर्च गरिसकेको छ । दब्ल्याङको पहिरो जिल्लाको दक्षिणी भेगका जनतालाई ठुलो समस्याको रूपमा रहेको छ । पुल निर्माण प्रक्रिया अगाडि बढाएर समयमा नै काम सम्पन्न भयो भने नियमित सडक सञ्चालनमा भने समस्या हुने थिएन।