इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार पहिलो संस्करणको महिला फ्रेन्चाइज भलिबल लिगको मिति घोषणा गरेको छ । आयोजकका अनुसार प्रतियोगिता १४ देखि १९ असोजसम्म दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । लिगमा विभिन्न ६ सहरका टोली एकआपसमा भिड्नेछन् । लिगका लागि मार्की खेलाडी, प्रशिक्षक र टोलीका आठ खेलाडी घोषणा भइसकेको छ । ड्रिम्स प्रालिले लिग आयोजनाका लागि नेपाल भलिबलसँग सम्झौता गरेको छ ।
आमिर अख्तरको नेतृत्वमा आयोजना हुन लागेको लिगमा सहभागी टोलीले अनिवार्य रूपमा समान तीन विदेशी र एक ट्यालेन्ट हन्टबाट खेलाडी राख्नुपर्नेछ । लिगको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । ‘लिगको तयारी तीव्रताका साथ गरिरहेका छौँ, ६ प्रतिष्ठित फ्रेन्चाइजबिच भलिबल समुदायका लागि अभूतपूर्व अनुभव सिर्जना हुने विश्वास छ,’ आयोजकले भन्यो ।
ड्रिम्स प्रालिले नेपालमा महिला खेलाडीलाई सशक्तीकरण गरिने अभियानका रूपमा लिगलाई लिएको जनाएको छ । ‘महिला खेलाडीलाई सशक्तीकरण गर्नुका साथै राष्ट्रिय खेललाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने एक महत्वपूर्ण कदम हो,’ ड्रिम्स प्रालिले जनाएको छ । मधेशले विदेशी कोटामा दुई खेलाडी अनुबन्ध गरिसकेको छ ।
ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट खेल्ने पक्का गरिसकेकी छिन् । दोस्रो विदेशी खेलाडीका रूपमा मधेशले योस्रालाई भित्राएको हो । यसअघि काजकिस्तानकी कालिनोभा यभजेनिया पहिलो विदेशी खेलाडीका रूपमा भित्रिएकी थिइन् ।
भलिभल कभर्ड हल निर्माण उपसमिति गठन
राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्ड हल निर्माणस्थल छनोट तथा तयारीका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधासम्पन्न भलिबल कभर्ड हल निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा राखेपले उपसमिति गठन गरेको हो । उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।
परिषद्का सदस्यसचिवस्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वयमा जग्गा छनोट गरी प्राप्तिका लागि प्रारम्भिक चरणको कार्य गर्नुपर्नेछ । जग्गा यकिन भएपछि ०८१ असोजभित्र डिपिआरका लागि आधार तयार गर्ने उपसमितिलाई कार्यादेश दिएको छ । कार्यादेशअनुसारको काम सम्पन्न गरी उपसमितिले ३० दिनभित्र परिषद्मा प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकाले सुविधासम्पन्न कभर्ड हल निर्माण आवश्यक भएको परिषद्ले जनाएको छ ।