साफ यू–२० च्याम्पियनसिप : जियारथ चम्केपछि नेपाल फाइनलमा

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण
साफ यू–२० च्याम्पियनसिप : जियारथ चम्केपछि नेपाल फाइनलमा

साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा भुटानको गोल प्रयास रोक्दै नेपालका गोलरक्षक जियारथ । तस्बिर : ज्ञानेन्द्र कार्की

फुटबल खेलको अन्तिम नतिजा टाइब्रेकरबाट आउँदा त्यसको नायक गोलरक्षक नै हुन्छन् । विपक्षी खेलाडीले महत्वपूर्ण पेनाल्टी मिस गर्दा उनी नै खलनायक हुन्छन् । खेलको नतिजा टाइब्रेकरबाट गर्नुपर्दा सबैको ध्यान गोलरक्षकमाथि हुन्छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार यस्तै भयो । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो । जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गर्यो । नेपाल र भुटानबिचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भयो । अब भारत र बंगलादेशबिचको खेलको विजेताविरुद्ध नेपाल बुधबार उपाधिका लागि भिड्नेछ । 

साफ यू–२९ च्याम्पियनसिपको नेपाललाई तेस्रोपटक उपाधि भिडन्तमा उभ्याउन नेपालका युवा गोलरक्षक जियारथ शेख नायक भए । उनले आफूलाई युवावस्थामै टाइब्रेकरजस्तो तनावपूर्ण अवस्थामा कसरी नियन्त्रणमा राख्न सकिन्छ भन्ने प्रमाणितसमेत गरेका छन् । धेरै अर्थमा नेपालले दोस्रो संस्करणपछि फाइनल स्थान सुरक्षित गर्नुको पछाडि गोलरक्षक जियारथको उत्कृष्ट प्रदर्शन नै थियो । उनले भुटानका दुई खेलाडीको पेनाल्टी मात्र रोकेनन्, आफैँले पनि निर्णायक पेनाल्टी गोल गरेका थिए ।

 जियारथ शेख, गोलरक्षक
गत वर्ष दशरथ रंगशालामा दुई पेनाल्टी बचाएको थिएँ, तर हामीले गोल गर्न सकेनौँ । यसपटक मेरै उत्कृष्ट प्रदर्शनका कारण नेपाल साफ यू–२० को फाइनलमा पुग्यो । योभन्दा अरू खुसी के हुन सक्छ ?

टाइब्रेकरमा नेपालका चारै खेलाडीले शतप्रतिशत गोल गरे । भुटानका एक खेलाडी मात्र गोल गर्न सफल भए । नेपालका लागि पहिलो पेनाल्टीमा राम थापाले गोल गरे । भुटानका लागि पहिलो पेनाल्टी प्रहार गरेका जेत्सुन दोर्जीले १–१ को बराबरीमा पुर्याए । दुवै पक्षबाट आ–आफ्ना पेनाल्टी प्रयास सफल हुँदा टाइब्रेकर रोमाञ्चक बन्ने अवस्थामा आएको थियो । तर, फर्ममा रहेका गोलरक्षक जियारथले त्यसपछि भुटानी खेलाडीको प्रयासलाई विफल पारे । जसका कारण भुटानको फाइनल खेल्ने सपना अधुरो रह्यो । 

नेपालका अविनाश स्याङ्तानले दोस्रो पेनाल्टीमा गोल गरे । भुटानका लागि दोस्रो पेनाल्टी प्रहार गर्न आएका जिग्मे नामग्यालको प्रहारलाई जियारथले उत्कृष्ट बचाउ गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । त्यसपछि नेपालका सीमान्त थापाले गोल गरेपछि घरेलु टोली ३–१ ले अगाडि बढ्यो । भुटानका उग्यन दोर्जीको पेनाल्टी प्रयासलाई जियाराथले बायाँतर्फ डाइभ गर्दै बचाए । कार्यवाहक कप्तानको आर्म ब्यान्डसमेत लगाएका गोलरक्षक जियाराथले आफैँ चौथो पेनाल्टी प्रहार गर्ने निधो गरे । चौथो पेनाल्टी गोल हुँदा नेपाल फाइनल पुग्ने थियो । गोलरक्षक जियारथले सहजै गोल गरी नेपालको फाइनल स्थान पक्का पारे ।

यू–१९ को पीडा
गत वर्ष दशरथ रंगशालामा साफ यू–१९ च्याम्पियनसिप भएको थियो । प्रतियोगिताको सेमिफाइनलमा नेपालले भारतको सामना गरेको थियो । त्यो सेमिफाइनलको नतिजा पनि टाइब्रेकरबाट भयो । संयोगले त्यसवेला जियारथले नेपाली टोलीको कप्तानी गरेका थिए । भारतविरुद्धको पेनाल्टीमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, नेपाली खेलाडीले पेनाल्टी मिस गर्दा उनले टोलीलाई फाइनलमा पुर्याउन सकेनन् । उनले भारतका दुई पेनाल्टी बचाएका थिए । तर, नेपालका तीन खेलाडीले असफल पेनाल्टी प्रहार गर्दा भारत ३–२ ले विजयी भयो । त्यसवेला नेपालका लागि कुशल देउवा र अश्विन घोरासैनीले गोल गरेका थिए । 

नेपालका प्रशान्त लक्सम, लक्षु थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न सकेनन् । एन्फा कम्प्लेक्समा भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि गोलरक्षक जियारथको अनुहार प्रसन्न थियो । ‘गत वर्ष दशरथ रंगशालामा दुई पेनाल्टी बचाएको थिएँ, तर गोल गर्न सकेनौँ,’ उनले भने, ‘यसपटक मेरै उत्कृष्ट प्रदर्शनका कारण नेपाल साफ यू–२० को फाइनलमा पुग्यो । योभन्दा अरू खुसी के हुन सक्छ ?’ नेपालका नियमित कप्तान कुशल देउवा मध्यान्तरपछि रिप्लेस भए । त्यसपछि मैदानमा सिनियर खेलाडीका रूपमा जियारथले कार्यवाहक आर्मब्यान्ड लगाएका थिए । 

एक साताको पेनाल्टी अभ्यास
सम्भवतः नेपालका गोलरक्षक जियारथले गत वर्षको भारतविरुद्धको टाइब्रेकर भुलेका छैनन् । उनले खेल टाइब्रेकरमा जाँदा आफूलाई मानसिक रूपमै बलियो बनाए । उनले यसका लागि लगातार एक सातादेखि अभ्यास गरेका रहेछन् । ‘त्यतिवेलाको हारको चोट अझै पनि थियो । यद्यपि, भारतसँग पेनाल्टीमा पराजित हुँदाको क्षणदेखि अझ मिहिनेत गर्नुपर्ने देखिएको थियो,’ उनले भने, ‘आजको पेनाल्टी सुटआउटका वेला म पूरा आत्मविश्वासी थिए“ र भुटानको प्रहार जोगाउन सक्छु भन्ने विश्वास थियो ।’ प्रशिक्षक उर्जन श्रेष्ठले गोलरक्षकप्रति पूरा विश्वास भएको बताए ।

सुझावित समाचार