निर्मला हत्याकाण्ड : न्यायिक आन्दोलनमा होमिएका १३ वर्षीय बालक सन्नी खुनाले ज्यान गुमाएको दिन

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका- २, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको न्यायिक आन्दोलनमा होमिएका एक बालकले ज्यान गुमाएको ६ वर्ष पूरा भएको छ। निर्मलाको न्यायका लागि भन्दै स्थानीयले गरेको आन्दोलनमा होमिएका भीमदत्त नगरपालिका- १८, सालघारी भगतपुरका १३ वर्षीय सन्नी खुनाले आजकै दिन ८ भदौमा ज्यान गुमाएका थिए। 

निर्मलाको बलात्कारपछि हत्या भएको करिब महिना दिनमै सन्नीले पनि ज्यान गुमाएका थिए। आन्दोलनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा तोडफोड गर्न सुरु गरेपछि प्रहरीले चलाएको गोली लागेर १३ वर्षीय बालक खुनाले ज्यान गुमाएका थिए। 

४ भदौमा निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका- १९, बागफाँटाका ४६ वर्षीया दिलीप विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन चर्किएको थियो। मानसिक सन्तुलन गुमाएका दिलीप विष्टले निर्मलाको हत्या गर्न नसक्ने भन्दै केही अधिकारकर्मी समूहले आन्दोलन चर्काएका थिए।

७ असोजमा पनि प्रहरीको गोली लागेर घाइते भएका भीमदत्त नगरपालिका–४, महेन्द्रनगरका २४ वर्षीय अर्जुन भण्डारासहित घाइते भएका थिए। भण्डारी अहिले पनि निको भएका छैनन्। प्रहरीले चलाएको गोली लागेर पूर्व-पश्चिम महेन्द्र राजमार्ग बसपार्क पूर्व क्षेत्रमा ढलेका सन्नीको खुट्टा, पेटमा गोली लागेको थियो। उपचारका लागि महाकाली अस्पताल लगिएका सन्नीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रदर्शनकारीले खुनाको शवलाई स्टेचरमा प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गर्दै लगेर विरोध गरेका थिए। सन्नीसँगै गोली लागेर भीमदत्त नगरपालिका- १, भाँसीका १६ वर्षीय उमेश देउवा, भीमदत्त नगरपालिका– १८, जानकी टोलका चेतन भट्टसहित दजनौँ मानिस घाइते भएका थिए। निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएर ज्यान गुमाएका सन्नीको परिवारमा अझै पनि सन्नाटा छाएकै छ। 

सुझावित समाचार