नाबालकबाट नाबालिका बलात्कृत

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

बाराको कोल्हवी नगरपालिका- ८, मा ५ वर्षीया नाबालिका बलात्कृत भएकी छिन्। नाबालिकाको प्रादेशिक कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो। बलात्कार अभियोगमा प्रहरीले १४ वर्षीय ‘कोल्हवी ३’ लाई नियन्त्रणमा लिई बाल निगरानी कक्षमा राखेर अनुसन्धान गरेको थियो।  

प्रहरीले दुवै बालबालिका भएका कारण यस घटनालाई प्राथमिकतामा राखेर फास्ट ट्रयाक रूपमा निवेदन दर्ता भएको दश दिनमा नै अदालतमा पेस गरेको थियो भने शुक्रबार बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजालसले बालकलाई बाल सुधारगृहमा पठाउने आदेश दिएका हुन्।

गत साउन २७ गते पाँचवर्षीया ‘कोल्हवी १’ बलात्कृत भएकी थिइन्। ‘कोल्हवी १’ले परिवारलाई घटनाको जानकारी दिएपछि उनले साउन ३० गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन्। नाबालिकाले उक्त घटना परिवारलाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको हो।

बालिकाले घटनाको केही दिनपछि उनको आमालाई आफूलाई पिसाब फेर्न अप्ठ्यारो भएको र दुखेको जानकारी गराएकी थिइन्। युवतीकी एक आफन्तले भनिन्, ‘साउन ३० गते कोल्हवी बजारमा रहेको जननायक अस्पतालमा बालिकालाई परीक्षण गर्दा नाबालिक बलात्कृत हुन सक्ने परिवारलाई बताएको थियो।’ 

चिकित्सकले परिवारलाई बलात्कृत भएको जानकारी गराएलगत्तै परिवारले ‘कोल्हवी १’ सँग घटनाको विवरणलाई प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दर्ता गराएका थिए। त्यसपछि उनको प्रादेशिक कलैया अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणले उनी बलात्कृत भएको पुष्टि गरेको थियो। 

‘एकातर्फ दुवै बालबालिका छन्, अर्कोतर्फ दुवै छिमेकी हुन्। बालकले बालिकालाई चकलेट दिई घरपछाडि लगी करणी गरेका रहेछन,’ परिवार स्रोतले भन्यो, ‘बेलुकीको समयमा बालिकाको परिवारसमेत घरमा थिएनन्, त्यही समयमा घटना घटेको रहेछ।’ 

प्रहरीमा जाहेरी आएको दुई घण्टामै हामीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बालकले आरोप स्वीकार गरेका थिए। इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख तथा प्रहरी निरीक्षक किसन बस्नेतले भने, ‘हामीले बालबालिकालाई बाल निगरानी कक्षमा राखेर अनुसन्धान गरेका थियौँ, बालकलाई उनलाई नकारात्मक असर पर्ला भनेर नै यो मुद्दालाई तीव्र गतिमा अदालतमा पेस गरेका हौँ।’

सामाजिक सञ्जालमा देखिएका अश्लील दृश्यबाट प्रेरित भएका कारण घटना हुन पुगेको अनुसन्धानले देखाएको एक प्रहरीले भने। बालकको मानसिकतामा सामाजिक सञ्जालमा देखिएका अश्लील दृश्यले गहिरो प्रभाव पारेको बताइएको छ। सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकालाई सुरक्षित गर्न नसक्दा बालबालिकाले नै गलत कार्यमा रहेको एकपछि अर्को घटना दोहाेरिन थालेपछि सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।
 

सुझावित समाचार