कावासोतीमा इभी चार्जिङसहित नमुना पेट्रोल पम्प बनाउँदै प्रहरी

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

नवलपुरको सदरमुकाम कावासोतीमा नेपाल प्रहरीको नमुना पेट्रोल पम्प बन्ने भएको छ। विद्युतीय गाडीहरूको चार्जिङ स्टेसनसहित पेट्रोल पम्प बन्न लागेको हो। पेट्रोल पम्पको शुक्रबार प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले शिलान्यास गरे।

शिलान्यासपछि बोल्दै राईले पेट्रोल पम्म अत्यावश्यकीय सेवा रहेकाले प्रहरीले यसमा काम गर्न लागेको बताए। उनले प्रहरीले खोल्ने पम्पमा गुणस्तरीय इन्धनका साथै असहज अवस्थामा पनि पेट्रोलियम पदार्थ उपलब्ध हुने बताए।

प्रहरीले यो पम्पलाई देशकै नमुना पम्प भनेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतीको अघिल्तिर प्रहरीले पम्प निर्माण सुरु गरेको हो। महेन्द्र राजमार्ग क्षेत्रमा प्रहरीको नाममा रहेको २२ कट्ठा जग्गामा यो पम्प निर्माण हुन लागेको हो।

देशकै नमुना भनिएको यो पम्पमा इभी चार्जिङ स्टेसन, गाडी ग्यारेज, क्याफे र करिब ६ कट्ठामा सुन्दर बगैँचा निर्माण हुने बताइएको छ।

यसैबीच प्रहरीले सो जमिनमा बनाइएका फलफूल चोकमा रहेको सटर, फलफूल पसल तथा किराना पसलहरू केही दिनमा नै खाली गर्ने भएको छ। प्रहरीले यसअघि ३५ दिने सूचना जारी गरेर उक्त जमिनमा बनेका टहरा तथा संरचना हटाउन निर्देशन गरिसकेको छ।

सुझावित समाचार