पोखराबाट नर्सिङको परीक्षा दिन वीरगन्ज र जनकपुरका लागि हिँडेकाहरू दुर्घटनामा परेका छन् । ठक्कर दिने ग्यास बुलेटका चालक फरार ।
हेटौँडामा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । घाइतेहरूको हेटौँडास्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका- ९ मास्टर चोकस्थित पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको एनएल ओ १ एल २९७१ नम्बरको भारतीय एलपी ग्यास बुलेटले विपरीत दिशातर्फ जाँदै गरेको ग.३च ८४४९ नम्बरको कारलाई ठक्कर दिएको हो ।
ग्यास बुलेटको ठक्करबाट कारका चालक स्याङ्जा जिल्लाको अरुणचौपाही नगरपालिका– १ बस्ने वर्ष ३३ का चूडाबहादुर विष्ट, कारमा सवार कास्कीको पोखरा महानगरपालिका– ११ का ६३ वर्षीय पुरण श्रेष्ठ र लम्जुङको बेँसीसहर नगरपालिका– ८ की १७ वर्षीया नेहा रानामगर घाइते भएका छन् ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार घाइतेहरूको अवस्था मध्यम छ भने कारमा रहेका अन्यको अवस्था सामान्य छ । पोखराबाट नर्सिङ भर्नाको परीक्षा दिन वीरगन्ज र जनकपुरका लागि हिँडेका उनीहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेका दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनापछि फरार रहेका एलपी ग्यास बुलेटको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।