साफ यू–२० च्याम्पियनसिपको समूह ‘ए’मा लगातार दोस्रो जित निकाल्दै नेपाल समूह विजेता, दोस्रो खेलमा बंगलादेश २–१ ले पराजित
घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हरायो । नेपाललाई जित दिलाउन समीर तामाङले एक गोल गरे । बंगलादेशका रक्षक मोहसिन अहमेदले आत्मघाती गोल गरेपछि नेपाल २–० ले अगाडि रह्यो । बंगलादेशका लागि मिराजुल इस्लामले एक गोल फर्काए ।
नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले योजनाअनुसार सुरुमै गोल गर्न सफल भएको प्रतिक्रिया दिए । ‘समूह विजेता बन्न जसरी पनि जित्नैपर्ने दबाब थियो । योजनाअनुसार सुरुमै गोल गर्न सफल भयौँ,’ श्रेष्ठले भने, खेलाडीले पनि राम्रो प्रदर्शन गरे । अब, सेमिफाइनलमा केन्द्रित हुन्छौँ ।’
तीनै गोल पहिलो हाफमा भएको थियो । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गरेको प्रतियोगितामा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । दुई खेलबाट ३ अंक जोडेको बंगलादेश उपविजेता बन्यो । दुवै देशले एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाएका हुन् । लगातार दुई खेल हारेको श्रीलंका समूह चरणबाटै घर फर्कियो । उसलाई नेपालले १–० तथा बंगलादेशले २–० ले हराएको थियो ।
सुरुमै गोल व्यहोरेपछि बंगलादेशका प्रशिक्षक मारुफुल हकले दबाबमा खेल्नुपरेको बताए । ‘नेपालले सुरुमै गोल गरेपछि हाम्रा खेलाडी दबाबमा आए । खेल्न नै सकेनन्,’ उनले भने, ‘अब, सेमिफाइनलमा जुनसुकै टोली भए पनि जित्न खेल्छौँ ।’
पहिलो हाफमा तीन गोल
नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धामा तीनै गोल पहिलो हाफमा भएको थियो । खेलको १७औँ मिनेटमा समीरले नेपाललाई अग्रता दिलाए । बंगलादेशी गोलकिपर मेहदी हसन स्रबोनले बक्सबाहिर आएर गरेको गल्तीको फाइदा लिँदै समीरले खाली पोस्टमा बल छिराएका हुन् । दुई मिनेटपछि नेपालले दोस्रो गोल गर्यो । निराजन धामीको प्रहार रोक्ने क्रममा बंगाली रक्षक अहमेदले आफ्नै पोस्टमा बल छिराएका थिए । त्यसअघि नेपालका अविनाश स्याङ्ताङको क्रसलाई बक्सभित्रबाट नीराजनले वान टचमै प्रहार गरेका थिए ।
पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा बंगलादेशले एक गोल फर्कायो । इस्लामले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ मा ल्याए । राम थापाले बक्सभित्र फाउल गरेपछि बंगलादेशले पेनाल्टी अवसर पाएको हो । दोस्रो हाफको इन्जुरी समयमा गोलकिपर जियारथ शेखले उत्कृष्ट बचाउ बराबरी हुनबाट नेपाललाई बचाएका थिए ।
समूह ‘बी’मा खुला प्रतिस्पर्धा
समूह ‘ए’बाट विजेता र उपविजेता टुंगो लाग्दा समूह ‘बी’बाट सेमिफाइनल पुग्न तीनै राष्ट्रलाई बाटो खुला छ । समूहमा भारत र भुटानको समान ३ अंक छ । माल्दिभ्स अंकविहीन छ ।
भुटानले दुवै खेल खेल्दा भारत र माल्दिभ्सले आज दोस्रो खेल खेल्दै छन् । यही खेलपछि सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लाग्नेछ । अब, नेपालले आइतबार हुने सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ । बंगलादेशले समूह ‘बी’को विजेतासँग खेल्नेछ ।
एन्फालाई राखेपको पत्राचार
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाको विषयमा यथार्थ जानकारी गराउन पत्राचार गरेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले २० साउनमा आफ्नै संघका उपाध्यक्ष लामा लागुऔषध कारोबार मुद्दामा अदालतबाट दोषी ठहर भइसकेको भन्दै निवेदन दिएका थिए । खड्काले राखेपलाई निवेदन दिँदै लामा लागुऔषध कारोबार मुद्दामा दोषी ठहर भई अदालतबाट कारबाहीसमेत भइसकेको अवस्थामा खेलकुद विकास ऐनअनुसार पदमा बहाल रहन नसक्ने जिकिर गरेका छन् । खड्काले यही निवेदन युवा तथा खेलकुद मन्त्रालय र प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पनि बुझाएका थिए । राखेपले गत २५ चैतमा पनि एन्फासँग लिखित जानकारी उपलब्ध गराउन पत्राचार गरेको थियो । तर, हालसम्म कुनै जानकारी नगराएको राखेप स्रोतले बतायो ।