विभागीय टोली त्रिभुवन आर्मी एफसी ताप्लेजुङ गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । बिहीबार राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको आर्मी युनाइटेड फुटबल क्लब बिर्तामोड (झापा)सँग ३–० ले पराजित भयो । चौथो क्वार्टरफाइनल खेल जित्दै बिर्तामोड दोस्रो ताप्लेजुङ गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । विजयी झापाले ८ भदौमा हुने दोस्रो सेमिफाइनलमा सिराहाको सलहेश युथ क्लबसँग खेल्नेछ ।
भारतबाट डुरान्ड कप खेलेर फर्किएको आर्मीले पहिलो हाफमा गोलको प्रयास गरे पनि सफल भएन । सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । ४६औँ मिनेटमा बिर्तामोडका लागि अभिषेक गुरुङले गोल गर्दैै १–० को अग्रता बनाए । ६५औँ मिनेटमा राष्ट्रिय टोलीबाट खेलिसकेका रक्षक देवेन्द्र तामाङले उत्कृष्ट फ्रिकिक गोल गर्दै अग्रता २–० को बनाएका हुन् । उनले मैदानको मध्यभागबाट गरेको प्रहार आर्मीका गोलकिपर नवीन परियारले पत्तै पाएनन् । एक मिनेटपछि नै हिसुव थपलियाले टोलीका लागि तेस्रो गोल गरे । आर्मीबाट राष्ट्रिय टोलीबाट खेलिसकेका भरत खवास र नवयुग श्रेष्ठ थिए ।
शुक्रबार हुने पहिलो सेमिफाइनलमा स्पोर्टिङ क्लब र मोरङको सगरमाथा युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । संघर्ष स्पोर्टिङ क्लबले उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लबलाई ७–५ ले पराजित गरेको हो । सलहेश पाँचथर फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो । मोरङको सगरमाथा युथ क्लबले नेपाल सुपर लिग खेलेको बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।