परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबिचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छिन्।
भारतको चारदिने औपचारिक भ्रमण सकेर आज बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा पत्रकारहरूसँग कुरा गर्दै उनले भ्रमणबाट दुई मुलुकका बिचमा रहीआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताइन्।
मन्त्री डा. राणाले भनिन्, ‘भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरूसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शनसमेत गरेको मैले विश्वास लिएको छु।’
उनले भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा गत आइतबार नयाँदिल्ली गएको र नेपाल–भारतको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको जानकारी गराउँदै भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रूपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरूमा कुराकानी भएको जानकारी दिइन्।
भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीमा शिष्टाचार भेट भएको र भेटमा नेपाल र भारतबिच रहीआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचार आदानप्रदान भएको उनले जानकारी दिइन्। त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणापत्र पनि हस्तान्तरण गरेको मन्त्री डा. राणाले बताइन्।
सोही दिन राणाले भारतीय समकक्षी विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन्। सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारबहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायत सहयोग आदानप्रदान र सहकार्यका बारेमा छलफल भएको उनले जानकारी दिइन्।
भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि गत आइतबार नयाँदिल्ली गएकी थिइन्। परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो। मन्त्री डा. राणा आज नियमित उडानबाट अपराह्न ४ बजे काठमाडौं आइपुगेकी हुन्।