बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण
बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै घरेलु टोली नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गरेको यू–२० च्याम्पियनसिपको समूह ‘ए’ विजेता बनेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाललाई जित दिलाउन समीर तामाङ र निराजन धाँमीले समान एक–एक गोल गरे। बंगलादेशका लागि मिरजुल इस्लामले गोल फर्काए। तीनै गोल पहिलो हाफमा सम्भव भएका हुन्। 

यो जितपछि नेपाल समूह ‘ए’ को विजेता बनेको छ। नेपालले दुई खेलबाट ६ अंक जोड्यो। दुई खेलबाट तीन अंक जोडेको बंगलादेश उपविजेता भयो। नेपाल र बंगलादेश दुवै एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाएका हुन्। नेपालले १–० तथा बंगलादेशले उसलाई २–० ले हराएका थिए। लगातार दुई खेल हारेको श्रीलंका समूह चरणबाटै घर फर्कियो। 

अब, नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ। समूह ‘बी’को विजेता र उपविजेता शुक्रबारको खेलबाट टुंगिनेछ। भारत, भुटान र माल्दिभ्स तीनै टोलीको उत्तिकै सम्भावना रहेको छ। 

खेलको १७औँ मिनेटमा समीरले नेपाललाई अग्रता दिलाए। बंगलादेशी गोलकिपर मोहदी हसन सर्बोनले बक्सबाहिर आएर गरेको गल्तीको फाइदा लिँदै समीरले खाली पोस्टमा बल छिराएका हुन्। 

दुई मिनेटपछि नै निराजनले टोलीको २–० बनाए। अविनाश स्याङ्ताङको क्रसलाई बक्सभित्रबाट निराजनले वान टचमै जाली चुमाए। गोलकिपर हसनले पत्तै पाएनन्। 

२–० ले पछि परेको बंगलादेशले पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा एक गोल फर्कायो। निराजुल इस्लामले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ मा ल्याए। राम थापाले बक्सभित्र फाउल गरेपछि बंगलादेशले पेनाल्टी अवसर पाएको हो । 

दोस्रो हाफको इन्जुरी समयमा गोलकिपर जियारथ शेखले उत्कृष्ट बचाउ गर्दै २–२ को बराबरी हुनबाट बचाएका थिए। 

प्रतियोगिताको छैटौँ संस्करण चलिरहँदा भारत सर्वाधिक पाँच तथा नेपाल दुईपटकको च्याम्पियन हो। यसपटक प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ।

सुझावित समाचार